सिन्धुली । दुधौली नगरपालिका भित्र ६ जना कोभिड १९ संक्रमित भेटिए पछि नगरपालिकाले नगरपालिका र सो मातहतमा रहेका सबै सेवा बन्द गरेको छ ।
विहिबार दुधौली नगरपालिकामा रहेको सेन्चुरी बैंकका ५ जना कर्मचारी र क्वारेन्टाईनमा रहेका एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नगरपालिका भित्र रहेका सबै कार्यालय, संघसंस्था तथा वित्तिय संस्था लगाएतका सेवाहरु बन्द गरेको हो ।
कोरोना संक्रमण फैलन सक्ने भन्दै नगरपालिकाले त्यसलाई नियन्त्रण गर्नका लागि कार्तिक १ गतेसम्मका लागि नगरपालिका भित्र प्रदान गरिने सबै खाले सेवा बन्द गरेको हो ।
यसरी बन्द हुनेमा नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवाहरु, वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु, बैंक वित्तिय संस्थाबाट प्राप्त हुने सेवाहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, सामुदायिक तथा नीजि विद्यालयहरु छन ।
यस्तै नगरपालिकाले सबै नगरवासीलाई मास्क अनिवार्य प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र अति आवश्यक काम बाहेक बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।
दुधौली नगरपालिकाका नारायण भट्टराईका अनुसार नगरपालिकामा चल्ने यातायातलाई भने मापदण्ड पालना गरि चल्न दिईने छ भने पसलहरु सञ्चालन गर्दा मापदण्ड पालना गरेर मात्र गर्नुपर्ने छ ।
सिन्धुलीमा विहिबार दुधौली नगरपालिका भित्रका ६ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।





















