सिन्धुली । सिन्धुलीमा आइसोलेसन वेडको अभाव भएको छ । लकडाउन खुकुलो भएसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि आइसोलेसन वेडको अभाव भएको हो । सिन्धुली अस्पताल र एपोलो अस्पतालमा रहेको ४१ वेडको आइसोलेसनमा विरामी भरिएसँगै वेडको अभाव भएको हो ।

केन्द्रको बैठकले जिल्लामा खुलेका हाटबजारहरु बन्द गराउन सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघलाई निर्देशन सहितको निर्णय गरेको छ । हाटबजार तथा बजार क्षेत्रमा भिडभाड बढेका कारण संक्रमणको जोखिम बढेको भन्दै केन्द्रले हाट बजार लगाउन रोक्ने निर्णय गरेको हो ।
यस्तै लकडाउन खुकुलो भएसँगै बजारमा सामाजिक दुरी कायम नगर्ने, मास्क तथा स्यानिटाईजरको प्रयोग नगर्ने, धेरै संख्यामा मानिसहरुको उपस्थिति हुने लगाएतका क्रियाकलाप बढेको भन्दै केन्द्रले सामाजिक दुरी कायम गराउन, मास्क लगाउन र स्यानिटाईजर प्रयोग बढाउन सामाजिक संघसंस्थाको सहयोगमा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
मास्क प्रयोग नगर्ने, सामाजिक दुरी कायम नगर्ने नगराउनेलाई कारवाहि प्रक्रिया थाल्ने समेत निर्णय गरेको छ ।
यस्तै जिल्लामा निर्माणाधिन आइसोलेसन भवनको निर्माण कार्य समेत तिव्र रुपमा अगाडि बढेको छ । ५ वटा आईसियु सहित ५० वेडको बन्ने उक्त भवनको काम अन्तिम चरणमा पुगेको आइसोलेसन भवन निर्माण समिति सिन्धुलीले जनाएको छ । समितिका संयोजक अशोक श्रेष्ठका अनुसार भवन दशैंसँगै सुरु हुने छ । जिल्लामा हाल संक्रमितको संख्या १०६ पुगेको छ भने ४० जना उपचाररत रहेका छन ।





















