सिन्धुली । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले नगरपालिका भित्रका सबै विद्यालयमा असोज १ गतेबाट कक्षा सञ्चालन गर्न तयारी गर्न अनुरोध गरेका छन । १ सय ५० दिनमा सबै पाठ्यक्रम अध्यापन गरि सकिने गरि सामाजिक दुरी कायम गर्दै कक्षा सञ्चालन गर्न आग्रह गरेका हुन ।

कमलामाई नगरपालिकाको आयोजनामा राष्ट्रिय बाल दिवसका अवसरमा कमलामाई ५ मा रहेको जनज्योति माविमा आयोजित खेलकुद सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

कार्यक्रममा नगरपालिकाले बौद्धिक अपांगता भएका बालबालिकालाई ड्रोइङ कपी ३० थान, कलर २० प्याकेट, भलिवल ३ वटा, क्यारेमबोर्ड ३ सेट, चिप्लेटी १ थान, घोडा १ थान, रवर व्लक ३ थान, विल्डिङ व्लक २ थान, रबर व्लक २ थान, मौसम तालिका १ थान, अंक व्लक १ थान, अंक पत्ति २ सेट, घडी व्लक २ थान, क ख कार्ड पत्ति १ थान र म्याट १० मिटर उपलब्ध गराएको छ । बालबालिकालाई सिकाईमा सहजता ल्याउनका लागि उक्त सामग्री हस्तान्तरण गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विकास कार्यक्रम सिन्धुलीले कमलामाई नगरपालिकाको आपतकालिन बाल उद्धार कोषका लागि ५० हजार सहयोग गरेको छ । संस्थाका सचिव मिलन श्रेष्ठले नगर प्रमुख खड्ग खत्रीलाई चेक हस्तान्तरण गरेका हुन । नगरपालिकाले एक लाख बराबरको आपतकालिन कोष स्थापना गरेको छ भने संघसंस्था तथा विभिन्न निकायबाट बालबालिकाको लागि आउने रकम कोषमा राखिने र विपतमा परेका बालबालिकालाई सहयोग गर्ने कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।






















