सिन्धुली । सिन्धुली कारागारका कैदी बन्दी नयाँ भवनमा सारिएको छ । कारागारको पुरुष व्लगको एक वटा भवन बनेपछि उनीहरुलाई नयाँ भवनमा सारिएको हो । कारागार प्रमुख माृतका पहाडीका अनुसार २४३ जना पुरुष कैदीबन्दीलाई शनिबार नयाँ व्लगमा सारिएको हो ।
सुविधा सम्पन्न कारागार निर्माणको चरणमा रहेको र पुरानो भवन भत्काउनुपर्ने अवस्था आएपछि कैदीबन्दीलाई नयाँ भवनमा सारिएको पहाडीले बताए । उनका अनुसार महिला व्लग र अर्को एक पुरुष कैदीबन्दीको व्लग निर्माणको क्रममा रहेको छ ।
कारागारमा रहेका ६ जना महिला कैदीबन्दीलाई रामेछाप कारागारमा सार्ने तयारी भईरहेको पहाडीले बताएका छन । अन्तराष्ट्रिय मापदण्ड अनुसार २५० जना कैदी बन्दी राख्न सक्ने गरि भवन बनाईदै गरेको भए पनि उक्त कारागारमा एक हजार जनासम्म राख्न सकिने गरि बनाईएको पनि पहाडीले बताएका छन ।
उनका अनुसार कार्यालय, व्याडमिन्टन कोर्ट, पुस्तकालय, ग्यारेज, कैदीबन्दी भेटघाट कक्ष, कर्मचारी क्वाटर, सुरक्षा गार्ड बस्ने व्यवस्था, किचेन, कम्पाउन्ड वाल सहितको भवन निर्माण भईरहेको छ । उक्त कारागारको भौतिक संरचना ८ करोड ८८ लाखमा निर्माण भईरहेको पहाडीले बताएका छन ।
वि.सं. २०२९ सालमा बनेको कारागारको पुरानो भवन २५ जनाको क्षमताको रहेको र जिर्ण अवस्थामा रहेको थियो । कैदीबन्दीको चाप बढेपछि त्यसैलाई मर्मत गरि ५० जनाको क्षमताको बनाईएको थियो ।





















