सिन्धुली । माक्स नलगाई बजार क्षेत्रमा हिडडुल गर्ने तथा सवारी साधन संचालन गर्ने सवारी चालक तथा पैदल यात्रुहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । शनिवार उक्त कारबाही अभियानमा एक सय ४६ जना कारबाहीमा परे । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथामको लागी नेपाल प्रहरीले अभियान संचालन गरिएको हो । शुक्रवार र शनिवार सिन्धुलीमाढीमा विभिन्न स्थानमा माक्स लगाउन अपिल गर्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, एसपी रञ्जु सिग्देल सहितको टोलीले मास्क वितरण गर्दै सचेत समेत गराएका छन ।

सिन्धुलीमाढीको बसपार्क क्षेत्र, मधुटार र शान्तिनगर चोकमा अभियान संचालन गरिएको हो । जसमा सात सय भन्दा बढी नागरिकलाई माक्स लगाउन व्यक्तिगत रुपमा नै अपिल गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।
नेपाल सरकारले लकडाउनको अन्त्य गरेको भए पनि कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलिरहेकाले यसबाट आम जिल्लाबासीलाई सचेत बनाउन मास्कको प्रयोगमा कडाई गरिएको हो ।
संक्रामका रोग नियन्त्रण ऐन २०२० अन्र्तगत रहेर कारबाही प्रक्रिया अगाडी बढाइएको पनि उनले बताए ।
सिन्धुलीबासीलाई कोरोना संक्रमणबाट बचाउन बाध्य भएर सडकमै आएको उनले बताए । शुक्रबार र शनिबार गरि ३ हजार थान मास्क वितरण गरिएको उनले बताए ।
माक्स वितरण तथा अभियान संचालनमा जिल्लाका विभिन्न गैर सरकारी संस्थाहरुले समेत सहयोग गरेका छन । सामुदायिक विकास कार्यक्रम, वल्र्डभिजन इन्टरनेशनल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लगायतले अभियानमा प्रत्यक्ष रुपमा सहयोग गरेका छन ।
अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गैससकर्मीहरु, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो । अभियान निरन्तर संचालन हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
दैनिक रुपमा बजार क्षेत्रमा हिड्ने प्रहरी तथा ट्राफिक प्रहरीले माक्स नलगाई हिड्डुल गरेको पाईएमा, व्यवसाय संचालन गरेको पाईएमा, सवारी साधनमा यात्रा गरेको पाईएमा प्रतिपटक थप एक सय रुपैया जरिवाना गर्ने प्रहरी उपरिक्षक रञ्जु सिग्देलले बताईन ।
यसरी कारबाहीमा परेकाहरुको नाम र रसिद नम्वर कमप्यूटरमा इन्ट्रि गर्ने भएकाले एक पटक भन्दा बढी समय अटेर गरेको पाईएमा त्यस्ता व्यक्तिहरुलाई बढी जरिवाना लिने सिग्देलले बताईन ।




















