सिन्धुली । कमलामाई नगरपालिकाको वडा नं. ७ बुद्धनगर चोकमा शान्तीका अग्रदुत गौतम वुद्धको मूर्ति स्थापना गरिएको छ । उक्त मूर्ति १८ लाख ७५ हजारमा स्थापना गरिएको हो । बुद्धको मूर्तिको एक औपचारिक कार्यक्रमका बीच अनावरण गरिएको छ । साढे चारफिट अग्लो र ३ सय ५५ किलोको उक्त मूर्ति नेपाली सेनाले तयार गरेको हो ।

नेपालीलाई चिनाउने गौतम बुद्ध र सगरमाथाले नेपालको शिर उचो पारेको स्मरण गर्दै मेयर खत्रीले सिन्धुलीगढीलाई पनि सोहि उचाईमा चिनाउने गरि विकास गर्न आवश्यक रहेकाले नगरपालिकाले उक्त अभियान चलाएको बताए । उनले गौतम बुद्धका सिद्धान्तलाई व्यवहारमा ल्याउँदै सबै नेपाली अगाडी बढ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले सिन्धुलीको विकासमै वुद्धको मूर्ति निर्माण र सिन्धुलीगढीको विकास महत्वपूर्ण र दिर्घकालिन विकास रहेको बताईन ।
कमलामाई नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष कर्ण घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा वुद्धको मूर्ति स्थापना गर्दाको खर्च उपभोक्ता समितिका सचिव मेनुका तिमल्सिनाले प्रस्तुत गरेकी थिइन । आयोजना सम्पन्न गर्ने उपभोक्ता समितिलाई नगरपालिकाले कार्यक्रमका अवसरमा सम्मान समेत गरिएको छ ।




















