सिन्धुली । सिन्धुलीमा आइतबार एकजना कोरोना संक्रमित थपिएका छन । दुधौली नगरपालिका ३ झुंगाका २२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आई दुधौली नगरपालिका वडा नं. २ भलुवाईमा रहेको क्वारेन्टाईनमा बसेका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी भारतबाट आई उक्त क्वारेन्टाईनमा बसेका थिए ।
दुधौलीका दुई वटा क्वारेन्टाईनमा रहेका ३१ जनाको आरटिपिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय बाग्मति प्रदेशले जनाएको छ । मन्त्रालयको दैनिक प्रतिवेदन अनुसार सिन्धुलीका संक्रमितको संख्या २१ पुगेको छ । जिल्लाबाट पठाईएको नमुना मध्येबाट भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्लाबाट ८ सय ६ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको थियो । संक्रमितलाई सिन्धुली अस्पतालमा ल्याई उपचार थालिएको छ । सिन्धुली अस्पतालमा अब ३ जनाको उपचार भईरहेको छ भने ७ जना डिस्चार्ज भईसकेका छन ।




















