
म २०४२ सालमा प्यूठानको विकट गाउँमा जन्मेकी हुँ । म १२ पुगि १३ वर्षमा मात्र लागेकी थिएँ । मेरो यौनीबाट एक्कासी रगत बग्यो । वर्षायामको समय थियो । त्यतिबेला गाउँमा महिनावारीको कुरा गर्नु सायदै अपराध नै मानिन्थ्यो । पहिलो पटक महिनावारी भएपछि घरको धुरी र दाजुभाई र बुवाहरुलाई हेर्नु महापाप मानिन्थ्यो । ११ दिनसम्म अर्काको घरमा लुकेर बस्नुपर्ने बाध्यता थियो । मेरी आमाले पनि मलाई घरबाट अलिक पर नाताले दाजु पर्नेको घरमा लगेर राखिदिनुभयो । म जान मानेको थिइन तर बाध्यता मेरो बारेमा सुन्ने कोहि थिएन ।
त्यतिबेला आजभोली जस्तो महिनावारीको रगतलाई सुरक्षित गर्ने खालका प्याड, कपडा पनि पाइदैनथ्यो । लगाउने लुगाको पनि अभाव । त्यसमाथि महिनाबारीकै बारेमा आफुलाई जानकारी नै थिएन । म धेरै रोएँ पनि । स्कुल पढ्ने हुनाले साथिहरुसँगको गफगाफमा यो वार्नुपर्ने विषय होइन भन्ने त थियो तर मेरो कुरा कस्ले सुन्थ्यो र ? मनदेखि नै घर छोड्न मन थिएन त्यसमाथि मलाई छोडिएको घरको गोठमा एक्लै सुत्नुपर्दाको पीडाले म जलिरहेको थिएँ ।
मेरा दुई जना भाईहरु छन । उनीहरु मसँगै खेल्ने, खाने, स्कुल जाने र म बिना एकछिन पनि बस्न सक्दैनथिए र म पनि त्यस्तै । म राती दिन भाईहरु आउँछन की भनेर बाटो हेरिरहन्थें । पाँचौ दिन भएको थियो मेरा दुवै जना भाईहरुले मलाई त्यहाँ राखेको थाहा पाएपछि बुवाआमालाई छलेर भेट्न आए । म पनि खुशी भएँ । अनि उनीहरुले आमालाई घरमा गएर मलाई भेटेको बताएपछि आमा मलाई लिन आउनु भयो । सात दिनको दिनमा म घरमा गएँ । त्यसपछि सँगै बस्ने, खाने, सुत्ने खेल्ने प्रक्रिया सुरु भयो । छुनु हुदैन भन्ने चलनलाई जिद्दीमै हामीले परिवर्तन ग¥यौं ।
२०५५ सालमा छाउ अर्थात महिनावारी भएकी मैले त्यतिबेलाको लुगा लत्ता छुट्टै हुनुपर्ने, दाजुभाई छुन देख्न नपाईने जस्ता समस्यालाई वेवास्ता गरें । मेरा लागि भाईहरु नै भगवान सरह भए । आज पनि मेरा भाईहरुलाई छाउ बार्नुपर्छ भन्ने छैन । महिनावारीलाई सामान्य रुपमा लिन्छन । म पनि महिनावारी हुदा बार्नुपर्छ भन्ने मान्यताको विरोधी हुँ । समाजका अलिक पुराना मानिसहरु अहिले पनि छाउ वार्न छोडेका छैनन । शहर होस वा गाउँ महिनावारी बार्नेहरुको कमी छैन । प्रकृति र शैली फरक छन । पश्चिम नेपालमा छाउगोठमै छाउ वार्छन भने शहरी इलाकामा कोठाभित्रै छोरीहरुलाई लुकाएर राख्छन । महिनावारी एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो भन्ने कुरा बुझाउन सकिएको छैन । अहिले पनि महिनावारीलाई पूर्वजुनिको पाप, नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिने गरिन्छ । सरसफाईलाई ध्यान दिनुपर्छ, स्वस्थ र तागतिलो खानेकुरा खानुपर्छ, आरामको आवश्यकता हुनुपर्छ भन्ने कुरालाई स्थापित बनाउन सकिएको छैन । महिनावारी भएका बेला लगाईएका कपडाका प्याडहरु घाममा सुकाउनुपर्छ भन्ने धेरैलाई थाहा छैन र सुकाउन दिईदैन ।
महिनावारीलाई लाजको विषय बनाईएको छ । यसबारे खुलेर छलफल हुन सकेको छैन । महिनावारी महिलाको लागि खुसीको कुरा हो र म प्रजननका लागि सक्षम छु भन्ने प्रमाण पनि हो भनेर सिकाईदैन । छोरीहरुलाई महिनावारीका बेला कसरी आफ्ना दैनिक कामलाई व्यवस्थित गर्ने भन्नेवारे सिकाउनभन्दा पनि गलत विश्वासलाई थोपरिदिने गरेको पाइन्छ । यहि मान्यताका कारण किशोरावस्थामा महिनावारीका कारण कतिपय स्कुले किशोरीहरुले मनमा डर, चिन्ता तथा निरासा समेत लिने र हिनताबोध गर्ने गरेका कारण पढाई समेत विगारेको पाइन्छ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुपर्ने र पाका महिलाहरुले ख्याल गर्नु आवश्यक हुन्छ । यस्तै किशोरीहरुलाई विद्यालय र महिनावारी, प्रजनन स्वास्थ्य शिक्षाले पनि सहज वातावरण सिकाउने गर्छ ।
मेरा पनि २ छोरी छन । जसरी मैले महिनावारीका बेलामा गरिने छुवाछुतबाट आफुलाई टाढा राख्न सकेसम्मको मेहनत गरें मेरा छोरीलाई त्यो संघर्ष गर्ने वातावरणबाट टाढा राख्न चाहान्छु । महिनावारी र किशोरावस्थामा आउने परिवर्तनबारे उनीहरुलाई सिकाउने छु । महिनावारीका बेला अछुत भएर बस्ने वातावरणबाट टाढा राख्ने छु । अहिले पनि महिनावारी बार्नुपर्छ भनेर सिकाउन आउने गरेका छन । मलाई जसरी सिकाउने प्रयत्न गर्छन मेरा छोरीहरुले त्यो सुन्न समेत नपरे हुने थियो । जात, धर्म, लिंगका आधारमा वा कुनै धर्म वा संस्कृति वा रितिरिवाजका नाममा हुने छुवाछुत अपराध हो र महिनावारीलाई पनि यहि अपराधका रुपमा लिनुपर्छ । अबको आवश्यकता कानुनी रुपमा महिनावारीका बेला हुने छुवाछुत अपराध हो भनेर सिकाउनु जरुरी छ । यसलाई त सृष्टिको उपजका रुपमा वा प्रजनन अधिकारका रुपमा स्थापित गराउनुपर्ने छ । विशेष गरि ब्राह्मण क्षत्रीमा हुने यो खालको विभेद सामाजिक अपराध हो भनेर सिकाउनु जरुरी छ । त्यसैले त म विद्रोह गरिरहेकी छु । जानिदो वा नजानिदो पाराले महिनावारी नवार्ने नारीका रुपमा दर्ज भईरहेकी छु ।
मैले महिनावारी बार्नुलाई नैतिकता, इज्जत, पाप वा कुनै रुपमा नलिएका कारण जुनसुकै खालको सजाय भोग्न पनि तयार छु र भन्छु म मेरा छोरीलाई महिनावारीका बेला छुवाछुत गर्न दिन्न । उनीहरुलाई महिनावारी वार्न लगाउन्न । यो पाप होइन अधिकार हो भनि सिकाउने छु । चाहे म सामाजिक बहिस्कारमा नै किन नपरुँ । आज सबै आमाहरुको यहि प्रतिवद्धता जरुरी छ । यसलाई सामाजिक अभियानका रुपमा अगाडि बढाउन जरुरी छ ।



















