सिन्धुली । बजेटका कारण रोकिएको सुनकोशी मरिण डाईभर्सनमा सरकारले आगामी वर्षका लागि २ करोड ४६ लाख बजेट विनियोजन गरेको छ । नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले संघिय संसदमा बजेट प्रस्तुत गर्दै उक्त कुरा जानकारी दिएका हुन । सरकारको प्राथमिकतामा रहेको आयोजना समेत रहेको उक्त आयोजनाको काम बजेटका कारण रोकिएको थियो । बजेट विनियोजन भए पछि आर्थिक वर्ष २०७७/०७८ मा आयोजना सञ्चालन हुने निश्चित भएको छ ।

त्यस आयोजनाको चालू आवमा नै प्रारम्भिक काम सुरु भइसकेको छ । आयोजनाबाट प्रदेश नं २ का बारा, पर्सा, रौतहट लगायतका जिल्लाका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।
सुनकोशीको पानी मरिनमा सुरुङ मार्फत लगेर जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कूल ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै ३० अर्ब लाग्ने बताइएको छ । आयोजनाबाट कूल २८ मेगावाट विद्युत् उत्पादन हुने छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ बाट सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३.१ किलोमिटर सुरुङबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिण खोलामा पानी खसाल्ने गरी डिजाइन गरिएको छ ।



















