सिन्धुली । मरिण गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा स्थानीय विपद व्यवस्थापन कोषमा हाल्ने भएका छन । गाउँपालिकाको बुधबार बसेको बैठकले सबै जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुविधा कोरोना कोषमा हाल्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताएका छन । उनले कोरोना रोकथाम तथा राहतमा खर्च गर्ने गरि उक्त रकम कोषमा हाल्न थालिएको बताए ।

कोरोना भाईरस कोभिड–१९ बाट उत्पन्न संकटका बेला सबैले एकताबद्ध भएर आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी रहेकाले कोषमा सबै जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा दिने निर्णय भएको उनले बताए ।
गाउँपालिकाले ३५ लाख राखेर स्थापना गरेको कोषमा अहिले सम्म ७८ लाख २१ हजार बराबरको रकम जम्मा भएको पनि उनले जानकारी दिएका छन ।



















