सिन्धुली । दुधौली नगरपालिकाले २२ जना आफ्ना नागरिकलाई रुपन्देहिका विभिन्न क्वारेन्टाईनबाट उद्धार गरि सिन्धुली ल्याएको छ ।
भारतमा रोजगारीका लागि गई १० दिन पैदल हिडेर रुपन्देहिको सुनौली नाका हुदै नेपाल आइ विभिन्न क्वारेन्टाईनमा बसेका नागरिकहरुको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछि त्यहाँका स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको दुधौली नगरपालिकाले जनाएको छ ।
रुपन्देहिका सिदार्थ नगर नगरपालिका, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका क्वारेन्टाइनबाट उनीहरुलाई उद्धार गरिएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको सचिवालयका कर्मचारी नारायण भट्टराईले बताएका छन ।
उनका अनुसार उद्धार गरि ल्याइएका नगरवासी सहित उनीहरुलाई ल्याईएको सवारीका चालक, सहचालक गरि २५ जनालाई विहिबार क्वारेन्टाईनमा राखिएको छ । दुधौली नगरपालिकाको वडा नं. ९ को कमला बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइन र दुधौली नगरपालिका वडा नं. २ भलुवाईमा रहेको क्वारेन्टाईनमा उनीहरुलाई व्यवस्थापन गरिएको उनले बताए ।
उनीहरुसँगै क्वारेन्टाईनमा ३४ जना रहेको समेत भट्टराईले जानकारी दिए । क्वारेन्टाईनमा रहेकाहरुको स्वास्थ्य परिक्षण तथा कोरोना परिक्षणका लागि स्वास्थ्य कार्यालय सिन्धुलीसँग समन्वय थालिएको पनि उनले जानकारी दिएका छन ।



















