सिन्धुली । सिन्धुलीको जय भगवानी कृषि सहकारी संस्थाको रासायनिक मलको गोदाममा स्थानीय प्रशासनले बुधबार छापा मारेको छ । उक्त सहकारीले विरगञ्जबाट साल्ट टे«डिङ कम्पनीबाट युरिया डिएपी लगाएतका मल ल्याई विक्री वितरण गरेको र उक्त मल किसानलाई सहज तथा उचित मुल्यमा उपलब्ध नगराएको आरोपमा उजुरी परेपछि स्थानीय प्रशासनले छापा मारेको थियो ।

ना ७ ख ९२४८ नम्बरको ट्रकबाट ४२० बोरा युरिया, ना ५ ख ५११ नं. ट्रकमा रहेको २५० बोरा, युरिया र ना ७ ख ३६६७ नं. को ट्रकमा रहेको २ बोरा डिएपी जफत गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले बताए । उनका अनुसार ट्रक सहित मल जफत गरिएको छ । उक्त मल र सवारी साधनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लगिएको छ ।

यस्तै सहकारीको गोदाममा रहेको एसएसपी ११९ बोरा, एल्मुुनियम सल्फेटोटेम ४० बोरा, जिंक ४ बोरा, पोटास ५ बोरा, डिएपी ५ बोरा, माइक्रो स्ट्रीको १०० एमएलको ८० पिस, कप गोल्ड १०० एमएल एकसय पिस, माइक्रो केल्स १०० एमएलको १५० पिस, माइक्रो केल्स २५० एमएलको २ कार्टुन लगाएतका सामग्री सहित गोदाम सिल गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सहकारीका कर्मचारी सुवर्णराज न्यौपानेका अनुसार उक्त सहकारीले ८४० बोरा मल विक्री गरिसकेको थियो । मंगलबार राती आएको २ गाडी मल वितरण हुने क्रममा प्रशासनले छापा मारेको उनले बताए । सहकारीले स्थानीय किसानलाई प्रति किसान १ बोराका दरले मल दिईएको र सहकारी मार्फत आउने र ठूला किसानलाई आवश्यकता अनुसारको मल दिईएको न्यौपानेले बताए ।
‘जसले मसँग सहकारी विना धेरै मल माग्नुभयो उहाँलाई सहकारी मार्फत आउनु भन्दा उजुरी हालियो’ न्यौपानेले भने । नियोजित तरिकाले गोदाममा शिल गरिएको उनले बताएका छन ।




















