सिन्धुली । लकडाउन सुरु भएको एक महिना नाघिसक्दा पनि कृषकले खेतीका लागि आवश्यक मल, बीउ नपाएको भन्दै बागमती प्रदेशस्थित इन्सेक कार्यालयले सरकारको ध्यानाकर्षण गराएको छ ।‘पहाडी जिल्ला भएको यस प्रदेशमा यो समय खेतमा चैते धान रोपाईं गर्ने काम सकिएको छ भने बर्खे धानको बीउ (ब्याड) राख्ने, बारीमा मकै तथा दलहन बाली लगाउने काम भइरहेको भन्दै मल र विउको अभाव नगराउन र अनुदान दिन इन्सेकले सरकारको ध्यानाकर्षण गराएको हो ।

कृषकको उत्पादनले बजार नपाउँदा काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवाकोट लगायत जिल्लाका कृषकहरू मर्कामा परेको तथा कृषकले उत्पादन गरेको काउली, बन्दा, मुला, करेला, लौका, फर्सीजस्ता ताजा तरकारी बारीमै कुहिने गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै पशुपालक किसानले उप्पादन गरेको दूधले बजार नपाउँदा किसान मर्कामा छन् भने कतै कुखुरा बजारमा नपठाउँदा तथा समयमै दाना नभएको कारण कुखुरा तथा गाईभैँसी बचाउनै समस्या परेको उल्लेख गरिएको छ । एकातिर कृषि उत्पादनले बजार नपाइरहँदा अर्कोतिर उपभोक्ता भने तरकारी तथा फलफूल लगायतका उपभोग्य वस्तुको अभाव र चर्को मूल्य वृद्धिको मारमा रहेको इन्सेकले जनाएको छ ।
‘उत्पादनलाई बजारमा पुराउने र कृषकलाई सर्वसुलभ रूपमा आवश्यक मल, बीउको व्यवस्था गर्न संघीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ ।




















