सिन्धुली । सिन्धुलीमा लकडाउनको अवधिमा पनि महिला तथा बालिका माथि हुने हिंसामा कमी नआएको पाईएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्र सिन्धुलीमा हिंसामा परेका २१ महिला तथा बालिकाले मनोपरामर्श सेवा लिएका छन ।
यो तथ्यांकले महिला हिंसाका घटनामा कमी नआएको देखाएको हो । केन्द्रका घटना व्यवस्थापक विजया सुवेदीका अनुसार केन्द्रमा बलात्कार २, यौन दुव्र्यवहार १, बालविवाह ३, घरेलु हिंसा (कुटपिट) ८, घरेलु हिंसा (श्रोत साधनबाट बञ्चित) भएका ५ महिला र अन्य २ जनाले मनोपरामर्श सेवा लिएका छन ।

यस्तै यो अवधिमा कोभिड १९ को त्रासका कारण मनोसामाजिक समस्या आएका १२ जना महिलाले उक्त केन्द्रमा मनोपरामर्श सेवा लिएका छन । केन्द्रका घटना व्यवस्थापक सुनिता शर्माका अनुसार उनीहरु सामान्य ज्वरो आएमा पनि डरले मनोपरामर्श सेवा लिन आएका छन ।
प्रहरीमा पनि आएका छन मुद्दा
यस्तै महिला माथि भएका हिंसाका घटना प्रहरीमा पनि आउने गरेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लक डाउनको अवधिमा २ वटा घरेलु हिंसा, २ वटा बलात्कार, १ वटा बलात्कार प्रयासका घटना दर्ता भएका छन ।
कतिपय साना तिना घटनाहरु स्थानीय तहमा जाने भएकाले पनि घरेलु हिंसाका घटनाहरु यो अवधिमा प्रहरी सम्म नआई पुगेको हुन सक्ने एसपी रञ्जु सिग्देलले बताएकी छिन । उनका अनुसार कति घटनाहरु लकडाउनको अवसरमा प्रहरीसम्म आउन सक्ने अवस्था नभएकाले पनि दर्ता हुन नआउको हुन सक्ने बताईन । उनले लकडाउनको अवसरमा हुन सक्ने यस्ता घटनालाई व्यवस्थापन गर्न सबै सरोकारवाला, स्थानीय सरकारले रणनीति बनाउन आवश्यक रहेको बताईन ।




















