सिन्धुली । काठमान्डौबाट विपि राजमार्ग र मध्यपहाडी राजमार्ग हुदै दैनिक पूर्वी तराई र पूर्वी पहाडी जिल्ला जाने पैदल यात्रुहरुको भिड लाग्न थालेपछि सडक छेउँमा पर्ने स्थानीयबासी र स्थानीय सरकारहरु त्रासमा छन । जसका कारण सिन्धुलीमा कोरोना संक्रमण हुन सक्ने भय बढेको छ ।

विपी राजमार्ग हुदै आउने पैदल यात्रुहरु सडकमै बास बस्ने, हिड्ने क्रम बढेसँगै स्थानीय सरकारहरुले त्रासका बाबजुद दैनिक सयौंको संख्यामा यात्रुहरुलाई उद्धार गरि गन्तव्यमा पु¥याउँदै आएका छन ।
सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र कमलामाई नगरपालिकामा सबैभन्दा बढी यात्रुहरु बढेको र उनीहरुलाई ती स्थानीय तहले उद्धार समेत गरिरहेका छन ।
सरकारले एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा समेत गन्तव्य रोकेपछि ती स्थानीय तहले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा उद्धार गरि पठाउने गरेका छन । विशेष गरि तराईका महोत्तरी, धनुषा सिरहा, सप्तरी लगाएत भारततर्फ जाने मजदुरहरु र ओखलढुंगा उदयपुर लगाएतका पूर्वि जिल्लामा जाने यात्रुका कारण कोरोना संक्रमण हुने हो की भन्ने त्रास बढेको र स्थानीय त्रासमा रहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताईन । उक्त गाउँपालिकाले दैनिक २ सय देखि अढाईसय मजदुरहरुलाई खाजा, पानी र सवारी सुविधा सहित उद्धार गरिरहेको छ ।
उनले भनिन, ‘रातदिन सडकमै बसेर व्यवस्थापन गरेका छौं, के खान दिने कसरी पठाउने सधै तनाव छ ।’ नागरिकलाई त्रासमा नरहनका लागि बुझाउन पनि कठिन भएको उनले बताईन । ‘उद्धार नगरौं खान नपाएर, खुट्टा दुखाएर, बेखर्चि भएर आएका छन, गरौं कोरोना फैलिएला भन्ने डर’, उनले भनिन । स्थानीय सरकारलाई खर्च धान्न गाह्रो परेको उनले बताईन ।
फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीका अनुसार उक्त गाउँपालिकाले आफ्नै खर्चमा दैनिक ८ देखि १० ट्रिप पैदल यात्रुलाई गाउँपालिकाको बोर्डर कटाउने गरेको छ । गाउँमा सबै कुरा व्यवस्थापन भए पनि पैदल यात्रुका कारण त्रास कायमै रहेको उनले बताएका छन ।
काभ्रे, भक्तपुर, काठमान्डौले पैदल यात्राका लागि नागरिकलाई छोडेपछि सिन्धुलीमा त्रासको वातावरण बनेको हो । जसका कारण राजमार्गमा लकडाउन समस्यामा परेको छ भने स्थानीय सरकारले कोभिड–१९ का लागि उपचारका लागि आर्थिक जोहो गर्नुपर्ने अवस्थामा यात्रुलाई उद्धारमा खर्च गर्नुपर्ने बाध्यता सृजना भएको छ ।
यता सिन्धुलीका तराईसँग नाका जोडिएका दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पनि पैदल यात्रु नियन्त्रण गर्न कठिनाई परेको छ । ती स्थानीय तहले प्रहरीको सहयोगमा निगरानी बढाएका भए पनि नियन्त्रणमा निकै कठिनाई आइरहेको जनाएका छन ।
विदेशबाट आउनेको समस्या छैन : प्रजिअ
जिल्लामा बैदेशिक रोजगारबाट आउनेका कारण समस्या नभएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताएका छन । उनले जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा हालसम्म जिल्लामा कोरोना संक्रमण व्यवस्थापन तथा उपचारमा भएका कामहरुको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै शुक्रबार त्यस्तो जानकारी दिएका हुन ।
उनले फागुनदेखि जिल्लाका नौ वटै स्थानीय सरकारले खोजी गरेको तथ्यांकमा २०७ जना नागरिक विदेशबाट आएको र चैत ११ गतेपछि आएका ३ जना पनि स्वस्थ रहेकाले विदेशबाट आउनेका कारण सिन्धुली जोखिममा नरहेको बताए । उनीहरुको निगरानी र स्वास्थ्य जाँच समेत स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले गरिरहेकाले सिन्धुली जोखिममुक्त रहेको बताए ।




















