सिन्धुली । कमलामाई नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । बजारमा सामानको मुल्यमा एकरुपता नआएको गुनासो बढेपछि अनुगमन गरिएको हो । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको संयोजकत्वमा गरिएको अनुगमनमा फलफूल तरकारी मुल्यमा केहि तरलता पाईएको छ भने भिमान बजारमा कुहिएका फलफूल तरकारी विक्री गरेको, म्याद गुज्रेका सामानहरु बेचेको पाईएको उपप्रमुख देवकोटाले बताईन । यस्तै मुल्य सूचि नटाँसिएको पाईएको पनि उनले बताईन ।
उनका अनुसार अनुगमन टोलीले कुहिएका तरकारी, फलफूल तथा म्याद गुज्रेका सामानहरु नष्ट गरिएको छ । काउली, टमाटर तथा फलफुल, मिति सकिएका पेय पदार्थ लगाएतका सामानहरु नष्ट गरिएको देवकोटाले बताईन ।
यस्तै अनुगमन टोलीले खान अयोग्य रहेका सामग्रीको बेचविखन गर्ने व्यवसायीहरुलाई दैनिक मुल्य सूचि टाँस गर्न, कुहिएका खाद्य पदार्र्थ नबेच्न सचेत समेत गराईएको छ ।
अनुगमनका क्रममा भिमान बजारमा रहेको तरकारी तथा फलफुल बजार, किराना पसल, डेरी लगायत विभिन्न दैनिक उपभोग्य सामग्रीहरुको बजारको अवस्था, गुणस्तरीयता र बजार मुल्यको अनुगमन गरिएको थियो ।
कनपाका कर्मचारी, जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रतिनिधि, उधोग वाणिज्य सघंका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधिको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।