सिन्धुली । दुधौली नगरपालिकाले मास्क पठाइएका सबै वडामा २५ सयका दरले मास्क पठाइएको एक अपिल मार्फत जानकारी गराएको छ । नगरपालिकाको वडा नं. १ मा एक हजार मास्क हराएको विषयले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चा पाई द्वन्द्व सृजना गरेपछि नगरपालिकाले अपिल मार्फत २५ सय थान माक्स वडामा पठाएको जानकारी गराएको हो ।

दुधौली नगरकार्यपालिकाले ४५ औं बैठकको निर्णय अनुसार मास्क नभएको भनि गुनासो आएका वडाहरु, १, २, ८ र १२ मा २५ सयका दरले मास्क पठाएको थियो । तर सवै वडाहरुमा २५ सय नै मास्क पुगे पनि वडा नं. १ मा १५ सय मात्र आएको भनि वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले दाबी गरेका थिए ।
मेयर घनश्याम राउतले जारी गरेको अपिलमा ‘वडा नं. १, २, ८ र १२ मा २५ सयका दरले मास्क पठाईएको सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना गरिएको छ’ भनि उल्लेख गरिएको छ ।
अपिल मार्फत मेयर राउतले भनेका छन, ‘वडा मार्फत वडाबासीलाई मास्क वितरण गर्न पठाएकोमा यो विषम परिस्थितिमा मास्क वितरणको विषयमा आरोप प्रत्यारोप नगरि सवैलाई कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने अभियानमा जुट्न समेत हार्दिक अपिल गर्दछु ।’




















