सिन्धुली । फिक्कल गाउँपालिकाले कोरोना संक्रमणको अवधिमा घरभाडामा लगाउने घरधनीले भाडा नलिन सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ । गाउँपालिकाको फेसबुक पेजमा गाउँपालिकाले उक्त अनुरोध गरेको हो ।
‘असंगठित क्षेत्रमा काम गर्ने श्रमिकलाई घरभाडामा राखिएको भए त्यस्ता घरवेटीले घर भाडा मिनाहा दिन र यस अवधिमा घर भाडामा बस्ने सवै व्यक्तिलाई घर बहालबाट ननिकाल्न’ जारी सूचनामा अनुरोध गरिएको छ ।
यस्तै गाउँपालिकाले आपूर्ती व्यवस्थालाई सहज बनाउन प्रत्येक वडा कार्यालयमा रहेको वडाध्यक्षको संयोजकत्वको समितिको काममा सवैले सहयोग गर्न पनि सबै नागरिकलाई अनुरोध गरेको छ ।
यस्तै विदेशबाट आएका व्यक्तिको नाम, ठेगाना सहितको विवरण प्रत्येक वडा कार्यालय र गाउँपालिकामा पठाई सहयोग गर्न समेत गाउँपालिकाबासीलाई अनुरोध गरेको छ ।
त्यस्तै कुनै पनि संघ संस्था वा व्यक्तिले यस गाउँपालिका क्षेत्रमा राहत वितरण गर्नु परेमा अनिवार्य रुपमा गाउँपालिकासँग समन्वय गरी अनुमति लिएर मात्र गर्नुपर्ने भएको छ । उक्त सुचनामा राहत वितरण गर्दा गाउँपालिकासँग समन्वय गर्नुपर्ने उल्लेख गरिएको हो ।



















