सिन्धुली । सिन्धुलीमा आठ जनालाई क्वारेन्टाईनमा राखिएको छ । दुधौलीमा रहेको क्वारेन्टाईनमा ५ जना र कमलामाई नगरपालिकामा रहेको क्वारेन्टाईनमा ३ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै शनिबार आइसोलेसनमा भर्ना भएका भारतको उत्तराखण्डबाट आएका कमलामाई नगरपालिका वडा नं. ५ का २६ वर्षिय युवाका परिवारलाई सिन्धुलीमाढीमा रहेको क्वारेन्टाईनमा राखिएको हो । ती युवाको रिपोर्ट भने आएको छैन ।
दुधौलीमा राखिएका ५ जनाको खानपिन तथा स्वास्थ्य जाँचको जिम्मा दुधौली नगरपालिकाले लिएको छ भने सिन्धुलीमाढीमा रहेको क्वारेन्टाईनमा रहेकालाई कमलामाई नगरपालिकाले खाना र स्वास्थ्य परिक्षणको जिम्मा लिएको छ । यस्तै १९५ जना विदेशबाट आएकाहरुलाई होम क्वारेन्टाईनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले बताईन ।
एकसय ३१ जनाको ज्वरो जाँच
यस्तै सिन्धुलीमा १३१ जनालाई ज्वरो जाँच गरिएको छ । सिन्धुली अस्पतालको फिवर इमर्जेन्सीमा उनीहरुको ज्वरो जाँच गरिएको हो ।
सिन्धुलीमा १३५ थान पिपिई
स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री १३५ थान रहेको छ । सिन्धुली अस्पताललाई वाग्मति प्रदेशका २ जिल्ला अस्पताल मध्ये कोरोना उपचार अस्पतालका रुपमा विकास गरिरहदा उक्त अस्पतालमा पिपिईको अभाव भएको यो तथ्यांकले देखाएको छ । अस्पतालमा संघसंस्था तथा सरकारी निकायको सहयोगमा उक्त पिपिई संकलन भएको हो ।
विदेशबाट आउनेको संख्या खोज्दै स्थानीय तह
सिन्धुलीका स्थानीय तहले विदेशबाट आउनेको तथ्यांक संकलन गरिरहेका छन । आइतबारसम्म जिल्लामा विदेशबाट आउने २०४ जनाको पहिचान भएको छ । भारतबाट आउने १०४ जना र तेस्रो मुलुकबाट आउने एकसय जना गरि २ सय ४ जनाको पहिचान भएको प्रसाईले बताईन । विदेशबाट आउनेमा १६ जना महिला रहेका छन ।
जिल्लामा नौ वटै स्थानीय तहले तथ्यांक संकलन गरिरहेका छन । स्थानीय तहले संकलन गरेको तथ्यांकमा हालसम्म कमलामाई नगरपालिकामा ४०, मरिण गाउँपालिकामा ३४, सुनकोशी गाउँपालिकामा १६, तिनपाटन गाउँपालिकामा ३५, फिक्कल गाउँपालिकामा १६, दुधौली नगरपालिकामा ४२, घ्याङ्लेख गाउँपालिकामा ९, गोलञ्जोर गाउँपालिकामा ८, हरिहरपुरगढी गाउँपालिकामा २९ जना विदेशबाट आएको पाईएको छ ।
यस्तै सिन्धुलीमा ३३ वेड आइसोलेन र २१० वेडको क्वारेन्टाईन तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।



















