सिन्धुली । सिन्धुली अस्पतालमा प्रवेश गर्नुपूर्व साबुन पानीले हात धुनुपर्ने भएको छ । हात नधोइ अस्पतालमा प्रवेश नगर्न अस्पतालले अनुरोध गरेको छ ।
जसका लागि अस्पताल प्रवेशद्वारबाट भित्र छिर्ना साथ बाटोमै ट्यांकीमा पानी, ट्यांकी छेउँमा सावुन, र हात धुने ९ तरिका सहितको पोष्टर ट्यांकीमा टाँसेर व्यवस्था गरिएको छ । आइतबारदेखि उक्त व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
कोरोना भाइरसको सन्त्रास फैलिएपछि जोखिम रहेको भन्दै अस्पतालले अस्पताल हाताभित्र प्रवेश गर्नुपूर्व हात धुन सबैलाई आग्रह गरेको हो । आग्रह मात्रै हैन अस्पतालले साबुन पानीको व्यवस्था समेत गरेको छ ।
उक्त स्थानमा सन्देशमूलक व्यानर समेत टाँगिएको छ । आफु पनि बाँचौं, अरुलाई पनि बचाऔं भन्ने नाराका साथ टाँगिएको व्यानरमा लेखिएको छ, ‘कोरोना भाइरसको जोखिम रहेकाले अस्पताल हाताभित्र प्रवेश गर्दा साबुन पानीले १ मिनेटसम्म हात मिचिमिचि धोएर मात्र प्रवेश गर्नुहुन समपूर्ण महानुभावहरुमा हार्दिक अनुरोध छ ।’
‘अस्पतालमा आउँदा सबैले हात धोएर प्रवेश गरिदिनु हुने छ भन्ने अस्पतालको अपेक्षा रहेको छ ।’ पोखरेलले भने, ‘अस्पताल कोरोनाका लागि जोखिम क्षेत्र हुन सक्छ, त्यसैले हात धुन सबैलाई अनिवार्य गरिएको हो ।’




















