सिन्धुली । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ६ रातामाटा घुम्तिमा दुईवटा सवारी साधान एकआपसमा ठोक्किए । वा १९ च १६७५ नम्बरको पिकअप भ्यान र विपरित दिशाबाट आएको प्रदेश नं. ३–०१०२च २७९५ नम्बरको भ्यान ठोक्कियो । घाइतेहरु चिच्चाहट गर्दै थिए । कोहि रोडमा पछारिएका थिए, कोहि गाडीमुनी परेका थिए त कोहि रोड भन्दा तल झरेका थिए ।
एकै छिनमा प्रहरीको भ्यान घटना स्थलमा आयो, सिन्धुली अस्पतालमा फोन गरियो । एम्बुलेन्स बोलाईयो । केहि पत्रकारहरु घटना स्थलमा फोटो खिच्दै थिए । यति हुदाहुदै राजमार्ग भरी सवारी जाम भयो । मानिसको भिड बढ्न थाल्यो । कोहि रुदै थिए । कोहि बिरामीको पहिचान गर्न हेर्दै थिए ।
रेडक्रसकर्मीहरुले प्राथमिक उपचार गर्न थालिसकेका थिए । प्रहरी, स्थानीय, रेडक्रसकर्मी लगाएतको पहलमा घाइतेहरुको उद्धार गरियो । ५ वटा एम्बुलेन्समा सिन्धुली अस्पतालमा विरामी पु¥याईयो ।
अस्पताल पुग्दा सिन्धुली अस्पतालका मेडिकल सुपरिडेन्डेन डा. लक्ष्मण खड्का सहितको स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको थियो । एम्बुलेन्सबाट विरामी झिक्ने, विरामीको वर्गिकरण गर्ने र रातो, हरियो, पहेंलो रिवन विरामीको हातमा बाँध्दै विरामीलाई वर्गिकरण अनुसार आपतकालिन कक्षहरुमा पु¥याईयो । अस्पतालमा पनि सर्वसाधारणको दौडादौड र भिडभाड बढीरहेको थियो । दुर्घटनाबारे सोधखोज पनि चलिरहेको थियो ।

दुर्घटनाका घाइतेहरु कसैको टाउकोमा चोट थियो, कसैको हात खुट्टा भाँचिएका थिए, कतिको छातीमा चोट थियो । विरामीलाई आवश्यकता अनुसार एक्सरे, भिडियो एक्सरे, इसिजी लगाएतका प्रविधिको प्रयोगबाट समेत उपचार गरियो । सामान्य विरामीलाई बेञ्च तथा भूईंमा वेड राखेर उपचार गरियो ।
यो साँच्चिकै दुर्घटना भने थिएन । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको संयोजन, व्यवस्थापनमा गरिएको कृतिम घटना अभ्यास थियो ।
विपी राजमार्गमा दैनिक दुर्घटना हुने र उक्त दुर्घटनाको दर बढीरहेको बेला घटना व्यवस्थापन तथा उपचारमा स्थानीय अस्पतालको क्षमताको मुल्यांकन गर्न यो अभ्यास गरिएको हो । सिन्धुली अस्पतालमा बाग्मति प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको यो पहिलो अभ्यास हो । अस्पतालको मानवीय, भौतिक तथा उपकरणीय क्षमता र सम्भावित दुर्घटनालाई हेरेर पहिलो पटक सिन्धुलीमा कृतिम अभ्यास गरिएको निर्देशनालयका डा. अर्जुन सापकोटाले बताए ।

सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्काका अनुसार अस्पतालले प्रकोप व्यवस्थापन योजना बनाएको बताए । उनले उक्त योजना कार्तिकमा बनाईएको तर केहि परिमार्जन गरेर लागु गरिने जनाए । सिन्धुली अस्पतालमा आकस्मिक अवस्थामा चाहिने सबै सेवा दिन सक्षम रहेको बताए ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका अधिकृत पवन पाख्रिनले आकस्मिक तरिकाले गरिएको कृतिम अभ्यासलाई हेर्दा सिन्धुली अस्पतालको सेवा सुविधा राम्रो रहेको पाईएको बताए । उनले अस्पतालले घाइते विरामीहरुलाई गर्ने रेस्पोन्स, सेवा सुविधा तथा उपचार राम्रो पाईएको उनले बताए ।
आठ अस्पतालमा अभ्यास गरिने
निर्देशनालयले यस्ता अभ्यास बाग्मति प्रदेशको ८ वटा अस्पतालमा गर्ने छ । जसमध्ये सिन्धुली लगाएत बढी दुर्घटना दर भएका ३ स्थानमा सडक दुर्घटना, यसबाट हुने मानवीय क्षति, सम्भावित घाइतेको प्रकृति र उपचार लगाएतका विषयलाई समेत मध्येनजर गरि कृतिम घटना व्यवस्थापन गरिने छ ।
उनका अनुसार निर्देशनालयले धादिङ अस्पताल धादिङ, त्रिशुली अस्पताल नुवाकोट, चौतारा अस्पताल सिन्धुपाल्चोक, हेटौडा अस्पताल मकवानपुर, रामेछाप जिल्ला अस्पताल, वगौडा अस्पताल चितवन र रत्ननगर अस्पताल टाँडी चितवनमा यस्ता अभ्यास गर्ने छ । जसमा कोरोना व्यवस्थापन अभ्यास, महामारी, इन्फ्लुञ्जा लगाएको व्यवस्थापन अभ्यास गरिने छ ।
घटना अभ्यासका बारेमा सोमबार सिन्धुली अस्पतालमा घटना व्यवस्थापनमा संलग्न विरामी, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, स्वास्थ्य निर्देशनालय सहित छलफल गरिने भएको छ । छलफलबाट आएको सुझावका आधारमा अस्पतालको व्यवस्थापनलाई थप मजबुत बनाउने योजना रहेको निर्देशनालयका डा.सापकोटाले बताए ।





















