सिन्धुली । कोरोना भाइरस कारण त्रास फैलिएसँगै सिन्धुलीका बजारमा माक्र्सको कृतिम अभाव हुन थालेको छ । माक्र्स बजारमा पाईन छोडेपछि कमलामाई नगरपालिका मार्फत गार्मेन्ट तालिम लिईरहेका प्रशिक्षार्थी महिलाहरु ५ दिनदेखि माक्र्स उत्पादन गर्न थालेका छन । उनीहरुले बजारमा माक्र्सको अभाव हुन नदिन उत्पादन थालेका हुन ।
कमलामाई नगरपालिका सिन्धुली र जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुलीको सहजीकरणमा गार्मेन्ट तालिम लिईरहेका १० जना महिलाहरुले माक्र्स उत्पादन सुरु गरेका हुन ।
उनीहरुले अर्डर अनुसार माक्र्सको उत्पादन गरिरहेका छन । हालसम्म लगभग ४ सय माक्र्स उत्पादन गरेको तालिम लिईरहेकी कमलामाई नगरपालिका वडा नं. ५ की सरिता श्रेष्ठले बताईन ।
उनका अनुसार थोकमा प्रतिगोटा २० रुपैंयाका दरले कपडाको माक्र्स विक्री भईरहेको छ । माग अनुसार माक्र्सको उत्पादन गर्ने गरेको श्रेष्ठले बताईन । उनीहरुले आफ्नै लगानीमा माक्र्स उत्पादन थालेका हुन । मेडिकल, पसलहरुमा माक्र्सको माग हुन थालेको श्रेष्ठले बताईन ।
माक्र्सको अभावका बारेमा स्थानीय सरकार तथा स्थानीय प्रशासनले अनुगमनका लागि कुनै तदारुकता देखाएको छैन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक सिडिओ विजया प्रसाईंका अनुसार स्वास्थ्य कार्यालयसँग समन्वय गरेर तत्कालै बजारको अनुगमन गर्ने तयारी भएको छ ।




















