सिन्धुली । मरिण गाउँपालिका वडा नं. १ आहालेकी १३ वर्षिय छलिमाया मोक्तानको हत्यामा संलग्न १५ वर्षिय बालकलाई सिन्धुली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । उनलाई जन्मकैद हुने र नावालक देखिएकाले जन्मकैदको आधा १२ वर्ष ६ महिना कैद कैद हुने फैसला मंगलबार अदालतले गरेको हो ।
जिल्ला न्यायाधिस किरण प्रसाद सिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो । छलिमायाको बालकले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा असोज २ गते हत्या भएको थियो । बालिकाको घर नजिकैको जंगलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो ।
छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिचि हत्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो । उनी घटना हुदा १४ वर्ष १० महिना ७ दिनका थिए ।
बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो ।
बालक १८ वर्ष पुरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिन्धुली जिल्ला अदालतले जनायो । उनलाई लगाइएको डाँका मुद्दाको भने दावी नपुगेको अदालतले फैसला गरेको छ । उनी विरुद्ध हत्या र डाँका मुद्दा चलेको थियो ।



















