सिन्धुली । सिन्धुलीका सरकारी निकायको सेवा प्रवाह सेवाग्राही मैत्री नभएको एक सर्वेक्षणले देखाएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सिन्धुलीका सरकारी निकायमा सेवा लिन आउने सेवाग्राहीमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।
सरकारी कार्यालयहरुमा सेवा लिन आउने अधिकांश सेवाग्राहीले कर्मचारीले समयमा काम नगरेको, बाहिरी व्यक्तिको सहयोग विना काम गर्न नसकिएको, सेवा प्रवाह प्रक्रिया झण्झटिलो भएको, कर्मचारीको व्यवहार राम्रो नभएको बताएको सर्वेक्षणमा देखिएको छ ।
सर्तकता केन्द्रले सिन्धुलीमा दुई दिन लगाएर गरेको सर्वेक्षणमा ६९ जना पुरुष र ३१ जना महिलामा सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणमा सहभागि मध्ये ८२ प्रतिशतले नागरिक वडापत्रका बारेमा नै जानकारी नभएको उत्तर दिएका छन भने १८ प्रतिशतले नागरिक वडापत्र बारे जानकारी पाएको बताएका छन । जानकारी पाउनेमा सबैभन्दा बढी ७८ प्रतिशतले आफै पढेर थाहा पाएको र १८ प्रतिशतले सञ्चारमाध्यमको प्रयोगबाट थाहा पाएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव उपरिक्षक राजेन्द्र कुमार पोखरेलले बताए ।
यस्तै सर्वेक्षणमा सिन्धुलीका ९९ प्रतिशत सेवाग्राहीहरुले सेवा प्राप्त गर्ने समय र लाग्ने दस्तुरका बारेमा जानकारी नभएको देखिएको छ ।
यस्तै सर्वेक्षणमा सहभागिहरुले कर्मचारीका कारण समयमा काम नहुने गरेको खुलासा गरेका छन । कर्मचारी नभएर २७ प्रतिशतले काम गर्न पाएका छैनन भने कर्मचारीले काम नगरेकाले ३६ प्रतिशतले सेवा लिन नपाएको गुनासो गरेका छन । १० प्रतिशत कर्मचारीले घुस मागेर काम नगरिदिएको सेवाग्राहीको गुनासो रहेको सर्वेक्षणले देखाएको पोखरलले जनाए ।
यस्तै सेवा प्राप्त गर्न बाहिरी व्यक्तिको सहयोग चाहिने गरेको पनि सर्वेक्षणले देखाएको छ । २५ प्रतिशत काम बाहिरी व्यक्तिको सहयोगमा मात्र हुने गरेको देखिएको हो । यस्तै ४७ प्रतिशतले समयमा काम नभएको गुनासो गरेका छन भने ८० प्रतिशत काम गुणस्तरहिन हुने गरेको पनि सर्वेक्षणले देखाएको छ । यस्तै सरकारी कार्यालयका ७५ प्रतिशतले कर्मचारीको व्यवहार सेवाग्राही मैत्री नभएको पनि सर्वेक्षणमा देखिएको छ । उता सेवा प्रवाहका बारेमा गरिने उजुरीमा पनि कमी देखिएको छ । सर्वेक्षणमा सहभागि मध्ये १५ प्रतिशतले मात्र गुनासो गर्ने गरेको देखिएको छ ।
उक्त सर्वेक्षणले सूचनाको हकको प्रयोगको अवस्था पनि नाजुक देखाएको छ । सूचनाको हकको बारेमा ५७ प्रतिशत नागरिक जानकार नभएको देखिएको हो ।
विकास निर्माण र सार्वजनिक सुनुवाईमा सहभागिता कमजोर
सिन्धुलीका नागरिकहरुको विकास निर्माणका काम र सार्वजनिक सुनुवाईमा पनि सहभागिता कमजोर देखिएको छ । सर्वेक्षणमा ६२ प्रतिशत सहभागिहरुले विकास निर्माणमा सहभागिता नजनाएको पाईएको छ भने ५ प्रतिशतले विकास निर्माणका काम नै नभएको बताएका छन । यस्तै सार्वजनिक निकायले गर्ने सार्वजनिक सुनुवाईमा ७४ प्रतिशतको सहभागिता नहुने गरेको पाईएको छ भने सार्वजनिक सुनुवाई नै नहुने गरेको जनाएका छन ।
नागरिक वडापत्र व्यवस्थित छैनन
सिन्धुलीका सरकारी कार्यालयका नागरिक वडापत्र र उजुरी पेटिकाहरु उचित स्थानमा नराखिएको तथा व्यवस्थित नगरिएको पाईएको छ । केहि सरकारी कार्यालयहरुमा सुधार देखिए पनि अधिकांश कार्यालयमा नदेखिने ठाउँमा राखिएको, सबै विववरण उल्लेख नगरिएको, छेकिएर नागरिकको पहुँचमा नदेखिएको पाईएको सतर्कता केन्द्रले जनाएको छ ।




















