सिन्धुली । सिन्धुलीका सबै स्थानीय तहले लैंगिक रणनीतिक कार्ययोजना बनाउने र महिलाको समविकासका लागि आवश्यक बजेट विनियोजन गर्ने भएका छन । शुक्रबार जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको स्थानीय तहमा महिला सशक्तिकरण एवम योजना निर्माण सम्बन्धि अन्तक्रिया लैंगिक रणनीतिक कार्ययोजना बनाई बजेट विनियोजन गर्ने सहमति सहितको निर्णय भएको हो ।
जिल्ला समन्वय समितिका उपसंयोजक सम्झना अधिकारी दनुवारको अध्यक्षतामा भएको कार्यक्रमपछि प्रतिनिधिसभा सदस्य हरिवोल गजुरेल, जिल्ला समन्वय समितिका संयोजक शंकर बर्मा तिवारी, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, नौ वटै स्थानीय तहका उपाध्यक्षहरु तथा अन्य जनप्रतिनिधिहरु, जिल्ला तथा पालिका स्तरका महिला अगुवाहरुले उक्त निर्णय गरेका हुन ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डेले प्रस्तुत गरेको उक्त कार्यपत्रमा राजनीतिक दल, सञ्चार, महिला सुरक्षा, व्यवसाय, लघु उद्यम, वैदेशिक रोजगार, संघसंस्था, समूह, क्लबमा महिलाको अवस्था कमजोर रहेको र बजेट विनियोजनमा स्थानीय तहको उदासिनता रहेको कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यपत्रमा स्थानीय तहले महिलालाई सम्बोधन नगरे महिलाको अवस्था झनै खस्कने हुदा ध्यान दिन सचेत गराईएको थियो ।
जिल्लामा स्थानीय तहमा बजेट विनियोजनको अवसर पारेर स्थानीय तहलाई लैंगिक संवेदनशिल बनाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि स्थानीय तहले महिलाको समविकासमा बजेट विनियोजन र लैंगिक नीति बनाउन ध्यान दिएका थिएनन । बजेट विनियोजन र लैंगिक नीति निर्माणमा ९ वटै पालिकालाई जिल्ला समन्वय समितिले सहजीकरण गर्ने छ ।




















