सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि निर्माण गर्न लागिएको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा जिल्लाका महिला अगुवाहरुसँग छलफल गरेको छ । महिला, जेष्ठ नागरिक, बालबालिका लगाएतका आवश्यकताहरुको प्राथमिकिकरण गर्न र सुझाव लिनका लागि नगरपालिकाले उक्त छलफलको आयोजना गरेको हो । मंगलबार कमलामाई नगरपालिकाको हलमा जिल्लामा क्रियाशिल राजनीतिक दलका महिला संगठन तथा संघसंस्थाका महिलाहरुसँग मेयर खड्ग खत्री, उपमेयर मञ्जु देवकोटा र प्रवक्ता कर्ण घिसिङले छलफल गरेका छन ।
छलफलमा महिलाहरुले हिंसापीडित महिलाहरुको लागि तत्काल राहत उद्धार र उपचारका लागि कोषको स्थापना, महिला सुरक्षा आवासको व्यवस्था, टोल फ्रि नम्बर, सुत्केरी गर्भवति महिलाका लागि आपतकालिन अवस्थामा स्वास्थ्य संस्थामा जान निशुल्क एम्बुलेन्सको व्यवस्था, महिला उद्यमशिलता बढाउनुपर्ने, शिक्षा स्वास्थ्य रोजगार कृषि लगाएतका क्षेत्रमा महिलालाई प्राथमिकता दिनुपर्ने लगाएतका सुझाव दिएका छन ।
अधिकारकर्मीहरुले लैंगिक रणनीतिक कार्ययोजना पास गरि कामको प्राथमिकीकरण गरेर काम गर्न नगरपालिकालाई सुझाव दिएका छन । यस्तै महिलालाई प्रेरणा र सिपको माध्यमबाट विकास गर्न महिला प्रेरणा विद्यालय, सिपको विकास, नगर क्षेत्रका विकास निर्माण महिला मैत्री, बालबालिका मैत्री, अपांग मैत्री बनाउन सुरुवात गर्न र नगरका कार्यालयीय भवन, विद्यालयमा स्तनपान कक्ष लगाएतका संरचना निर्माण गर्न सुरुवात गर्न सुझाव दिएका छन ।
यस्तै छात्राहरुलाई लक्षित गरि सबै विद्यालयमा छात्रा शौचालय र निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न नगरपालिकालाई सुझाव दिएका छन । यस्तै प्राविधिक शिक्षामा बालिका र द्वन्द्वपीडितलाई प्राथमिकता दिन पनि महिला अधिकारकर्मीहरुले सुझाव दिएका छन । यस्तै बालविवाह न्युनिकरणका लागि विशेष नीति बनाई कार्यान्वयनमा ल्याउन सुझाव समेत दिएका छन ।
बालबालिकाका लागि बाल आश्रम, जेष्ठ नागरिकहरुका लागि यातायात, औषधि उपचार र मनोरन्जनात्मक स्थानको निर्माण लगाएतका व्यवस्थ ागर्न समेत सुझाव दिएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले महिलाका सवालमा र समावेशीकरणको मुद्दामा नगरपालिका संवेदनशिल भएकाले अबका दिनमा महिलाका सवाललाई प्राथमिकिकरण गरि काम गर्ने बताए । कार्यक्रममा बोल्दै उपमेयर मञ्जु देवकोटाले लैंगिक रणनीतिक कार्ययोजना बनिसकेकाले कार्ययोजना र छलफलमा आएका सुझावलाई मध्येनजर गरि नीति तथा कार्यक्रम बन्ने बताईन ।




















