सिन्धुली । सिन्धुलीको मरिणमा गएराति ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मरिण गाउँपालिका–४ मरुवाका २३ वर्षीय सुकमान जिम्बा र मरिण–३ चनौटेका का १४ वर्षीय सागर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परी एक बालक समेत घाईते भएका छन । घाइते हुनेमा मरिण–३ का अभिषेक माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए ।
निर्माणाधिन हेटौंडा चतरा सडकखण्डमा पर्ने मरिणमा वान टेष्ट ट्याक्टर दुर्घटनामा परेको उनले बताए । ‘दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार तीब्र गतिले दुर्घटना भएको देखिन्छ,’ थापाले भने, ‘दुर्घटनामा पछि चालक तथा साहु ३६ वर्षीय श्याम माझी भने फरार छन् ।’
चालक फरार भए पनि उनका परिवार भने प्रहरी सम्पर्कमै रहेको थापाले बताए । घाइते माझीको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।




















