सिन्धुली । पश्चिममा पर्ने तत्कालिन हरीहरपुरगढी गाविस हालको हरीहरपुरगढी गाउँपालिका वडा नं. १ का ९८ प्रतिशत महिला घरमा नै सुत्केरी हुने गरेका छन् । वडा तथा वडाका आसपास बर्थिङ सेन्टर नभएका कारण अधिकांश महिलाहरु घरमा नै सुत्केरी हुने गरेको गाउँपालिका उपाध्यक्ष अनिता कुमारी राईले बताईन् ।
उक्त वडामा रहेको हरिहरपुरगढी स्वास्थ्य चौकीले सामान्य स्वास्थ्य सुविधा दिए पनि वर्थिङ सेन्टर नहुदा सबै स्थानीय महिलाहरु घरमै सुत्केरी हुन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष राईले बताईन् ।
हरिहरपुरगढी स्वास्थ्य चौकीका इन्चार्ज खमराज वि.क.का अनुसार वडा भरीमा जम्मा एक स्वास्थ्य चौकी त्यसमा पनि सुत्केरी गराउनको लागी दक्ष जनशक्ति देखि लिएर बेड तथा इक्युपमेन्ट समेत नभएको वि.क.ले बताए । महिलाहरुले घरमै सुत्केरी हुने गरेको उनले प्रस्ट गरे ।
उनका अनुसार बाँकी २ प्रतिशत आर्थिक अवस्था राम्रो भएका र चेतनास्तर उठेका महिलामात्र अन्यत्र गई स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको विकले जानकारी दिए । यस वडाका केहि स्थानीयहरु काभ्रे र केहि मकवानपुरमा उपचारका लागि जान्छन भने केहि स्थानीय सोहि गाउपालिकाको पिपलमाढी तर्फ जाने गरेका छन् । विकका अनुसार स्थानीय महिलालाई गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने समेत थाहा छैन । यो वडामा अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।





















