सिन्धुली । सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार सिन्धुलीमा क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुका लागि कलात्मक अनुसन्धान (क्वालिटेटिभ रिसर्च) सम्बन्धी ३ दिने कार्यशाला सुरु भएको छ । अनुसन्धान व्यवस्थापन इकाई सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार सिन्धुलीको आयोजनामा सुरु भएको उक्त कार्यशाला जेठ २५ गतेसम्म चल्नेछ ।
कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्ण प्रसाद गौतमले शिक्षक तथा प्राध्यापक विद्यार्थीको मात्र नभएर, समाज र देशकै मार्गदर्शक हुने बताए । प्राध्यापकहरुको अनुसन्धानले देशलाई निर्देशित र मार्गनिर्देशित गर्ने हुनाले सफल शिक्षक तथा प्राध्यापक हुनका लागि अनुसन्धान अपरिहार्य रहेको बताए ।
अन्य देशका तुलनामा नेपालमा प्राध्यापकहरुको रिसर्च कमजोर रहेको भन्दै उनले विश्वका उत्कृष्ट विश्वविद्यालयहरु त्यहाँका भौतिक संरचना, विद्यार्थी संख्या, प्राध्यापक संख्याले भन्दा पनि रिसर्चले उत्कृष्ट भएको बताए । त्यसैले प्राध्यापकले देशले स्वीकार तथा विश्वास गर्न सक्ने व्यक्तित्व र अनुसन्धान गर्न सके मात्र उ सफल प्राध्यापक हुने प्रा.डा गौतमको भनाई छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माणिक कुमार ढकालको अध्यक्षतामा भएको कार्यशालाको उद्घाटन सत्रलाई कार्यशालाका प्रमुख सहजकर्ताद्वय सह प्राध्यापक डा. प्रेम फ्याक र डा. पेशल खनाल, उप प्राध्यापक शुशिल शर्मा भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्ले, क्याम्पसका क्याम्पस प्रमुख अर्जुन दाहाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको उद्देश्य र विषयवस्तुमाथि सिद्धज्योति शिक्षा क्याम्पस अनुसन्धान व्यवस्थापन ईकाइका प्रमुख नानिबाबु घिमिरेले प्रकाश पारेका थिए ।
३ दिनसम्म चल्ने उक्त कार्यशालामा रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न क्याम्पसमा अध्यापनरत २ दर्जन बढी प्राध्यापकहरुको सहभागिता रहेको छ ।























