सिन्धुली । कमलामाई नगरपालिकाको वडा नंं. १२ का वडा सदस्य सूर्यमान थिङको घर हात्तिगौडा भन्ने ठाउँमा हो । उनको घरबाट वडा कार्यालय भएको स्थान सुनडाँडा पुग्न ३ घण्टा लाग्छ । उकालो ओरालो गर्दै हिडेरै उनी वडा कार्यालय जान्छन । तर उनलाई कमलामाई नगरपालिकाको केन्द्र सिन्धुलीमाढीमा आउन जम्मा १ घण्टा लाग्छ । सदरमुकाम आउँदा भने थोरै हिडेपछि सवारी साधन पाइन्छ ।
अफिसको जरुरी काम परेको बेला, वडा समितिको बैठक र कार्यक्रम भएमा मात्र वडा कार्यालय पुग्छन उनी । नत्र दिनहुँ वडा कार्यालय जान पनि असम्भव जस्तै छ ।

जनप्रतिनिधि निर्वाचित भए पछि केहि समय वडा सदस्यहरुले कार्यालय जान पालो लगाए । त्यो पालो पनि कता कता नमिलेपछि उनीहरु आवश्यकता अनुसार कार्यालय जाने गरेका छन । उक्त वडाका अध्यक्ष, वडा महिला सदस्य, दलित सदस्य सबैको वडा कार्यालयमा पुग्न एक देखि ३ घण्टा लाग्छ । जनतालाई बीचमा पर्ने गरि राखिएको कार्यालयमा पुग्न नागरिकहरुलाई निक्कै समस्या रहेको छ ।
वडा कार्यालयसँगै पशुसेवा, कृषी सेवा, स्वास्थ्य सेवा, मेलमिलाप लगाएतका सुविधा वडा कार्यालयबाटै पाइन्छ तर त्यहाँ सुविधा लिन जान वडाबासीलाई समस्या भएको वडाध्यक्ष ललित बहादुर आले मगरले बताए ।
वडाबासीलाई वडा कार्यालयमा आउन समस्या भएपछि वडा कार्यालयको सम्पर्क कार्यालय कमलामाई नगरपालिका वडा नं. ७ माझीटारमा सारिएको छ । सूचना प्रविधिमा नगरलाई जोड्ने अभियानले गर्दा पनि वडा कार्यालयमा समस्या भयो । विद्युत लाइन विस्तार नभएको त्यो वडामा कम्प्युटरबाट काम नहुने भएका कारण पनि वडाको सम्पर्क कार्यालय सदरमुकाममै सार्नु परेको वडा सदस्य जंग बहादुर बरालले बताए ।
सदरमुकाममा वडा कार्यालयले दिएको सानो सिफारिसमा केहि नमिलेमा दोहो¥याएर वडा कार्यालय आउनु परेमा वडाका नागरिकले त्यहि कामका लागि ३ दिन समय खर्चनु पर्ने बाध्यता छ । एकदिन वडा कार्यालय जान, एकदिन सदरमुकाम जान र फेरी फर्केर वडामा आउन र फेरी सदरमुकाम जान । वडा कार्यालयमै जान लामो समय लाग्ने भएपछि जनताको सहजताका लागि सदरमुकाममा सम्पर्क कार्यालय राख्नुपरेको वडा सदस्य बरालले बताए ।
वडा कार्यालय भएको स्थानमा पनि कर्मचारी त बस्छन तर कामका लागि सबै सदरमुकाम आउन थालेका छन । पानीको असुविधा, विजुलीको अभाव र सडकको सहज सुविधा नहुदा यहाँका स्थानीयलाई नगरको केन्द्र नै पायक स्थल बन्दै गएको जनप्रतिनिधिहरु नै बताउँछन ।




















