सिन्धुली । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले सामाजिक न्याय सहितको आर्थिक विकासको परिकल्पना गरि बजेट ल्याएको बताए । उनले सुशासन, शासकीय सुधार, भ्रष्टाचार विरुद्धको कडा रुट, तिव्र आर्थिक विकासमा ध्यान दिदै बजेट विनियोजन गरेको स्पष्ट गरे । आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले कृृषि पर्यटन, उर्जा, पूर्वाधार विकास, सिंचाई लगाएतका ८ वटा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री वास्कोटाले सञ्चार प्रविधि र विकासलाई सहि ढंगले प्रयोग गर्न र आधुनिकीकरण गर्न सरकार लागि परेको बताए । उनले साना मिडियालाई सहयोग गरि लोककल्याणकारी विज्ञापन नीति, सञ्चार माध्यमलाई सहयोग पुग्ने गरि लोककल्याणकारी विज्ञापनमा वृद्धि लगाएतका काम गरिएको उनले बताए ।
मुद्रास्फिति ६ प्रतिशत
पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री बास्कोटाले नेपालको मुद्रास्फिति ६ प्रतिशत हुने दावी गरेका छन । उनले कर्मचारीहरुको तलब वृद्धिले बजारमा केहि फरक पर्ने बताउदै २०३५ सालपछि सबैभन्दा ठूलो आर्थिक वृद्धिको लक्ष्य राखिएको बताए ।
उनले सरकारले नेकपाको चुनावी घोषणापत्र र जनचाहना अनुसार बजेट आएको बताए । दिगो विकासका लागि उपयुक्त बजेट आएको बताउदै उनले सामाजिक न्यायका मुद्दाहरुलाई प्राथमिकता दिएको बताए । प्रतिपक्षले बजेटको कार्यान्वयनमा शंका गरेको बताउँदै उनले गत वर्ष संरचना निर्माण नभएकाले पूजीगत बजेट कम खर्च भएको र अव त्यस्तो अवस्था नआउने बताए ।
एकवर्ष अगाडी नै वृद्धभत्ता बढाईयो
नेपाल सरकारले एक वर्ष अगाडि नै सामाजिक सुरक्षा भत्ता बढाएको बास्कोटाले बताएका छन । उनले जनतामा निरासा र अपेक्षा बढेका कारण उत्साह भर्नका लागि वृद्धभत्ता लगाएत सामाजिक सुरक्षा भत्ता बढाईएको दावी गरे ।
श्रमजीविका पक्षमा सञ्चार विद्येयक
मन्त्री बास्कोटाले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न र श्रमजीवी पत्रकारहरुको सुरक्षाका लागि आमसञ्चार विद्येयक ल्याइएको बताए । उनले साना लगानीका मिडिया र विग हाउसका लागि वर्गिकरण गर्नुपर्ने र न्यु मिडियालाई समेत सम्बोधन गर्नतर्फ सरकार सचेत रहेको बताए ।




















