सिन्धुली/सिन्धुली अस्पतालमा आइतबारदेखि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटा वडाका ३० देखि ७० वर्षसम्म उमेर समूहका नागरिकलाई उक्त कार्यक्रममा समावेश गरिने गरि कार्यक्रमको सुरुवात गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतमले बताईन । जिल्लामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ हजार जनालाई यो सुविधा दिने लक्ष्य रहेको उनले जानकारी दिईन ।
अति विपन्न, सिमांकृत, लोपोन्मुख, शसस्त्र द्वन्द्वका घाइते, सहिद तथा वेपत्ता परिवार, दलित तथा महिला स्वास्थ्य स्वयम् सेविकालाई लक्षित गरि उक्त कार्यक्रम ल्याईएको प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहालले बताए ।
उनले मुटु तथा रक्तनली, दिर्घ स्वासप्रस्वास, मधुमेह तथा क्यान्सरका विरामीको समयमा पहिचान गर्ने र उनीहरुको उपचारमा सहयोग गर्ने गरि कार्यक्रम ल्याईएको बताए । उनले अस्वस्थकर खानपान, सूर्तिजन्य पदार्थको प्रयोग, शारिरीक निष्कृयता, मदिरा सेवन लगाएतका कारण दिर्घ रोगीहरु ब्ढेको र ३ नं. प्रदेशमा यसको समस्या बढीरहेकाले यो कार्यक्रम ल्याईएको बताए ।
धादिङको धादिङ अस्पताल, मकवानपुरको हेटौडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र भक्तपुरको भक्तपुर अस्पतालमा परिक्षणका रुपमा लागु गरिएको यो कार्यक्रमको यो आर्थिक वर्षको बजेट ५० लाख रहेको छ । उक्त बजेट मध्ये सिन्धुली अस्पतालमा ४४ लाख रुपैंया पठाईसकेको मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहालले बताए ।
उक्त कार्यक्रम अन्तर्गत स्वास्थ्य जाँच गर्न चाहेमा लक्षित समूह बाहेकले २ हजार २ सय रुपैंया खर्च गर्नुपर्ने पनि उनले बताए । उक्त कार्यक्रम अन्तर्गतको परिक्षणमा १६ वटा जाँच गरिने छ । उक्त सेवा लिन आउने नागरिकले वडाध्यक्षको सिफारिस पत्र लिएर जिल्ला अस्पतालमा आउनुपर्ने पनि उनले बताए ।
उक्त कार्यक्रमको उद्घाटन एक कार्यक्रमका बीच संघिय सांसद तथा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले गरेका छन । कार्यक्रमको उद्घाटन गर्दै गजुरेलले जंगफुड बेचेर विरामी बढाउने र अस्पताल खोल्ने अभियानका लाग्नु भन्दा स्वास्थ्य सम्बन्धि ज्ञान दिनु उपयुक्त हुने बताए । उनले विरामी नहुँदा पनि स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतना दिलाउन आवश्यक रहेको बताउँदै स्वस्थ खानपान र शारीरिक सक्रियतामा ध्यान दिन सबैलाई आग्रह गरेका छन ।





















