सिन्धुली । जिल्लामा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया (अप्रेशन) शिविरमा दुई दिनमा १ सय ४१ जनाको आँखाको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
कार्तिक १३ र १४ गते सिन्धुलीमाढीमा सञ्चालन भएको शिविरमा पहिलो दिन ८९ जनाको शल्यक्रिया गरिएको थियो । जसमध्ये ४२ जना महिला र ४७ जना पुरुष रहेका थिए । त्यसैगरी, दोस्रो दिन ३३ जना महिला र १९ जना पुरुष गरी ५२ जनाको शल्यक्रिया गरिएको छ ।
दुई दिनको अवधिमा कुल ७५ जना महिला र ६६ जना पुरुष गरी १४१ जनाको मोतिबिन्दुको शल्यक्रिया सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले जनाएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, नेग अलिक टि एण्ड जाङ विन्स फेमिली सिंगापुर टिफगुड भिजन नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले शिविर आयोजना गरेको हो ।
मोतिबिन्दुका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका बिरामीलाई राहत पुर्याएको छ । निःशुल्क शल्यक्रियाबाट धेरै नागरिकले पुनः दृष्टि प्राप्त गर्ने अवसर पाएका छन् ।






















