सिन्धुली /नेपालीहरुको दोश्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा जिल्लाका गाउँघरमा फूल फुल्न थालेका छन् । तिहारमा घर सजाउन, पूजा गर्न र माला बनाउन आवश्यक पर्ने फूलका धेरै परिवारले आफ्नै घरआँगनमा फूलाएका छन् । घर आँगनमा फूल फुलाउनेसँगै केहि किसानहरु भने व्यवसायीक फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
घरायसी प्रयोजनका लागि फूल रोप्ने चलनसँगै जिल्लाका केही किसानले भने व्यावसायिक रूपमा पनि फूलखेती गर्दै आएका छन् । त्यसै क्रममा सुनकोशी गाउँपालिका वडा नं. ५ मा रहेको महाकाली बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक उमेश दर्नालले पाँच रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । उनका अनुसार फूलखेतीबाट वार्षिक करिब १० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । उनले तिहार विशेष फुलहरु सयपत्री, मखमली, गोदावारी लगाायत विभिन्न थरीका फूलहरु उत्पादन गरि बेच्ने गर्दछन् ।
त्यस्तै, फिक्कल गाउँपालिका वडा नं.२ मा पिताम्बर बराल सहित तीन जना किसानले संयुक्त रूपमा पाँच रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । दुधौली नगरपालिका–हर्षाहीका एक व्यक्तिले एक हजार पाँच सय फूलका बिरुवा रोपेको कषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यस्तै कमलामाई नगरपालिका ६ निवासी बिमला थापाले बिक्री गर्ने उद्देश्यले दुई कट्ठा क्षेत्रफलमा छुट्टै फूलखेती गरेकी छिन् ।
तिहारमा फूलको माग हुने भए पनि जिल्लामा व्यावसायिक रूपमा फूल उत्पादन र बिक्री गर्ने व्यवसायको अवस्था सीमित रहेको तथ्यांकले देखाएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहमा तिहारलाई लक्षित गरी घर घसमै आफ्ना करेसाबारीमा फूलखेती गर्ने गरिएको कृषि विकास कार्यालय सिन्धुलीका सुचना अधिकारी उमादेवी श्रेष्ठले बताइन् । प्रायःजसो आफ्नै घरमा आवश्यक पर्ने फूल आफैँ रोप्ने गरेको उनले बताइन् । उनका अनुसार स्थानीय उत्पादनबाट जिल्लाको माग पूरा गर्न सकिने भएकाले तिहारका लागि अन्य ठाउँबाट फूल ल्याउनुपर्ने आवश्यकता खासै नरहेको श्रेष्ठको भनाइ छ ।





















