– एकलाल श्रेष्ठ
सिन्धुली जिल्लामा कमरेड बाेधराज काफ्लेकाे पहलमा २०२२ सालबाट सुरू भएको कम्युनिष्ट पार्टी पुनर्गठनको इतिहाससँग २०२४/२५ सालदेखि नै कमरेड झङ्कनाथ दाहाल अविच्छिन्न रूपमा गाँसिदै आउनुभएको थियाे । पिता छविलाल दाहाल र माता ललिता कुमारी दाहालबाट विक्रम सम्वत २००३ सालमा जन्मनुभएका कमरेड झङ्कनाथ दाहाल निडर र हक्की स्वभावकाे हुनुहुन्थ्याे । कमरेड बाेधराज काफ्लेकै पहलमा बनारसमा डि पी अधिकारीसँग कमरेड भाेजराज सत्याल र रूद्रप्रसाद काफ्लेले मार्क्सवादको अध्ययन गरेर फर्किएपछि बि.सं.२०१७ साल पहिलेका पुराना कम्युनिस्ट नेता कार्यकर्ताहरूसँगको भेटघाट र स्थानीय शोषक सामान्तहरूबाट हुने ठगी र शोषण दमन विरुद्धको आन्दोलनलाई तीव्रता दिनुभएको थियो। यसै क्रममा २०२४/ २५ सालतिर रानीचुरी जरायोटारमा मालपोतमा हुने नदीकाट ठगी र मालपोत रसिद बापत लिने ५० पैसा विरुद्धको आन्दोलनमा उहाँ सक्रिय सहभागी हुनुभएको थियो। क.हरि बराल र रुद्रप्रसाद काफ्लेका अनुसार २०२६ सालतिरबाटै नेपाल कम्युनिस्ट पार्टीको मोरंगे झार्लाङ्गीटार क्षेत्रको सेल कमिटीमा रहेर कमरेड झम्कनाथ दाहालले संगठित रूपमा पार्टी काम गर्न सुरु गर्नुभएको हो । २०२५ सालमा तेस्रो ऐतिहासिक सम्मेलन गरेर कमरेड पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेपछि सिन्धुली जिल्ला पनि उक्त नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनमा सामेल भएको थियो। यसरी सिन्धुली जिल्ला पनि नेपाल कम्युनिष्ट पार्टीमा समावेश भएपछि २०२७ सालको फाल्गुन चैततिर हाल तीनपाटन ३ मा पर्ने महिनाभन्ज्याङको केही माथि जङ्गलमा जिल्ला सम्मेलन सम्पन्न भएको थियो।
उक्त जिल्ला सम्मेलनमा उहाँको सक्रिय सहभागिता रहेको थियो। २०२७ सालपछि पार्टीमा र अखिल नेपाल किसान संगठन दुवैतिर सक्रिय हुनुहुने कमरेड झम्कनाथ दाहाल अझ प्रत्यक्ष रुपमा जनता सहभागी हुने कार्यक्रमहरूमा झनै सक्रिय सहभागी हुने गर्नुहुन्थ्यो । त्यसैले २०२९ सालमा कोटगाउँमा प्रदर्शन गरिएको क्रान्तिकारी नाटक ‘५० रुपैयाँको तमसुक’ मा होस् वा त्यसको निरन्तरताको रूपमा २०३० सालमा मरङ्गेको कुण्डेश्वरी स्कुलमा प्रदर्शन गरिएको नाटक ‘घुमेर हेर्दा’ को प्रदर्शनीको क्रममा होस उहाँ सक्रिय सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसले २०३२ सालमा चलाएको सशस्त्र आन्दोलनको क्रममा ओखलढुङ्गाको टिमुरेमा निरङ्कुश पञ्चायती व्यवस्थाले गरेको हिंसात्मक दमन र उक्त घटनाको क्रममा पक्राउ परेका क्याप्टेन यज्ञबहादुर थापा र भीमबहादुर श्रेष्ठलाई सुनाइएको मृत्युदण्डको विरुद्धमा हाम्रो पार्टीको देशव्यापी रूपमा पर्चा छर्ने कार्यक्रममा उहाँको सक्रिय सहभागी हुनुभएको थियो। जुन पर्चा छरेको अभियोगमा सिन्धुलीमा कमरेड रामजी ढकाल ३३ साल असारमा पक्राउ पर्नुभएको थियो। जनमत सङ्ग्रहको घोषणापछि २०३६ सालको भाद्रको पहिलो साता बहुदलको पक्षमा सिन्धुली सदरमुकाममा घुम र छत्रीसहित भएको किसानहरुको र्यालीमा होस् वा सोही वर्ष भाद्र २६ गते भिमानमा तत्कालीन मन्त्री हेमबहादुर मल्ललाई घेराउ गर्ने कार्यक्रममा उहाँको अग्रणी भूमिका थियो। भाद्रको पहिलो साता बहुदलको पक्षमा भएको र्यालीमा त प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ गरेपछि बाध्य भएर प्रदर्शनकारीहरूलाई खानको निमित्त खाद्य संस्थानबाट चामल र आवासको निमित्त बेलुका सभागृह भवन उपलब्ध गराउन बाध्य भएको थियो । त्यसैगरी सोही वर्ष भिमानमा कमरेड साहाना प्रधान, राम सिंह रावल, एकराज पाण्डे लगायतका केन्द्रीय नेताहरूको आतिथ्यमा बहुदल प्रचारप्रसार समितिका संयोजक क.बासुदेव श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको आमसभामा उहाँको सक्रिय सहभागिता थियो। जनमत संग्रहमा पार्टीको तर्फबाट गठन गरिएको जिल्ला बहुदल प्रचारप्रसार समितिको सदस्य भएर सक्रिय भूमिका निर्वाह गर्नुभएका कमरेड झङ्क, सरकारले जनमत संग्रहमा पूर्ण रूपले धाँधली गरी कथित सुधारिएको पञ्चायतलाई जिताएपछि कथित सुधारिएको पञ्चायती व्यवस्थाको नाममा बदलिँदो दमनपूर्ण देशको राजनीतिक परिस्थिति र पार्टीभित्रकै आन्तरिक विवाद र गुटबन्दीका कारण उहाँ केही समय पार्टीमा सक्रिय हुन सक्नुभएन। उहाँ संगठित रुपमा पार्टीको आन्तरिक जीवनमा संलग्न नहुनु भएपनि जनताको पक्षमा पार्टीले उठाएका विभिन्न कार्यक्रमहरूमा सधैँ उहाँको साथ सहयोग रहँदै आएको थियो। कथित सुधारिएको पञ्चायतको निर्वाचनलाई बहिष्कार गर्ने पार्टीको नीति हुँदाहुँदै पनि ‘स्थानीय तहमा स्थानीय निर्णयअनुसार गर्ने’ भन्ने पार्टीको निर्देशन अनुसार पार्टीले समर्थन गरेको प्रधानपञ्चका उम्मेदवार चित्रलाल श्रेष्ठलाई जिताउन २०३९ सालमा उहाँ सक्रियपूर्वक लाग्नुभएको थियो। त्यसपछि मेरो सम्झना अनुसार २०४०/४१ सालबाट पार्टीमा र अखिल नेपाल किसान सङ्घको जिल्ला कमिटिमा रहि पुन संगठित जीवनमा सक्रिय हुनुभएको थियो। २०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध वाम प्रजातान्त्रिक शक्ति एक भएर संयुक्त जनआन्दोलनमा जाने निर्णय भएर राष्ट्रिय स्तरमै संयुक्त वाममोर्चा गठन भएपछि सिन्धुली जिल्लामा पनि २०४६ साल माघ २२ गतेका दिन तत्काल भीमस्थान गाउँ पञ्चायत- ४ चौतारा गाउँमा संयुक्त बाममोर्चा जिल्ला कमिटी गठन भएको थियो। उक्त कमिटीले देशव्यापी आन्दोलनको घोषणा गर्ने दिन २०४६ फागुन ७ गते कमरेड प्रदिप कटवालले सिन्धुलीमाढीको खम्बेचौरमा नेपाली कांग्रेससँग सहभागी भएर हँसिया हथाैडा अंकित नेपाल कम्युनिष्ट पार्टीको झण्डा गाड्ने र एकलाल श्रेष्ठले तीनपाटनमा जनताको आमभेला बोलाएर निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध आन्दोलनको उद्घोष गर्दै जनतालाई आन्दोलनमा उत्रन आह्वान गर्ने भन्ने निर्णय गर्यो। उक्त निर्णय अनुसार तीनपाटनमा भव्यतासाथ सम्पन्न भएको संयुक्त जनआन्दोलनको उद्घोष र जनतालाई आन्दोलनमा उत्रन आह्वान गर्ने त्यो ऐतिहासिक आमसभाको सभापतित्व गर्ने सिन्धुलीकै बाम आन्दोलनको एक ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो क. झङ्कनाथ । निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध २०४६ सालको त्यो आन्दोलन निकै जटिल र चुनौतीपूर्ण थियो। थुप्रै नेता कार्यकर्ताहरूलाई वारेन्ट र गिरफ्तारी भएको अवस्था थियो। नेपाली कांग्रेसका कैयौँ नेता कार्यकर्ताहरू जेल पुगिसकेका थिए । त्यस्तो जटिल परिस्थितिमा आन्दोलनको उद्घोष र जनतालाई आन्दोलनमा उत्रन आह्वान गर्ने खुला आमसभा गर्नु आफैंमा चुनौतीपूर्ण थियो । तर निडर स्वभावका कमरेड झङ्कले त्यसलाई सहज स्वीकार गरेर प्रजातन्त्रको पुनर्स्थापना नभएसम्मका आन्दोलनको विभिन्न चरणहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुनुभएको थियो। प्रजातन्त्र प्राप्तिपछि तत्कालिन नेकपा (मार्क्सवादी) ले सिन्धुली जिल्लालाई गढीबाट दुम्जासम्म गढतिर क्षेत्र , सिन्धुलीमाढीबाट तीनपाटन हुँदै पूर्वी क्षेत्र, मरिनखोला क्षेत्र र कमलाखुँज क्षेत्र गरी चार भागमा विभाजन गरेर पार्टीको प्रचारप्रसार र संगठन निर्माणलाई तीव्रता दिन पार्टीले चारवटा टिम बनाई खटाउने निर्णय गर्यो। उक्त अभियानमा गढिदेखि दुम्जासम्मको क्षेत्रमा हामी एकैसाथ खटेका थियौँ। त्योबेला ईश्वरीलाल श्रेष्ठ र रामहरि पौडेल लगायतका साथीहरू संलग्न हाम्रो टिम – दुम्जामा माधव न्यौपाने, झाँगाझोली रातमाटामा कमरेड बद्री सूर्यवंशी, कमरेड अर्जुन प्रधान, मुलकोटमा कमरेड बद्री दाहाल र विद्यार्थी नेता गोपी आछामेसँगको भेटघाट निकै महत्वपूर्ण रहेको थियो। झन्डै ९/१० दिन लामो त्यो हाम्रो राजनीतिक भ्रमणमा उहाँको सहभागिताले निकै सहज र सौहार्द मात्र बनाएको थिएन, हामीलाई एउटा अभिभावकीय अनुभूति समेत गराएको यहाँ स्मरण गर्न चाहन्छु। विचार संगठन र नेतृत्वको हिसाबले पनि समृद्ध बन्दै गएको त्यो बेलाको हाम्रो नेपाल कम्युनिष्ट पार्टीका थुप्रै जिल्लाका नेता कार्यकर्ताहरूले नेकपा (माले)सँगको एकतालाई अस्वीकार गर्दागर्दै पनि हाम्रो पार्टी नेकपा र नेकपा मालेबीच एकता भई एमाले बनेपछि, हाम्रो जिल्ला पनि एमालेमा समाहित हुन सकेन । परिणामस्वरूप २०४८ साल कार्तिक १५ र १६ गते काठमाडौँ प्रज्ञा भवन कमलादिमा देशभरिका नेकपा एमालेमा समायोजन नभएका जिल्ला नेता र कार्यकर्ताहरूको प्रतिनिधिमूलक राष्ट्रिय भेलागरि नेकपाको पुनःस्थापना गर्ने निर्णय भयो। त्यसपछि उहाँ पनि सोही नेकपा (मार्क्सवादी) पार्टीमा पुन: संगठित भई क्रियाशील हुनुहुन्थ्यो। त्यसपछिका विभिन्न राजनीतिक उतारचढावको बीच नेकपा (मार्क्सवादी) पार्टीमा टुट फुट प्रक्रियाहरू देखिनुको कारण संगठनको दृष्टिले पार्टी जतिसुकै कमजोर देखिए पनि उहाँ विचारको दृष्टिले पुष्पलालको विचारको विकल्प छैन भन्ने दृढ सैद्धान्तिक अडानसाथ जीवनको अन्तिम अवस्थासम्म पनि पुष्पलालको विचार र स्कुलिङसँग सम्बन्धित दलहरू भित्रकै पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल)मा राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारीमा क्रियाशील हुनुहुन्थ्यो। यसरी जीवनको अन्तिम घडीसम्म नेपाल कम्युनिस्ट पार्टीमा खासगरी पुष्पलालको विचारमा समर्पित भएर देश र जनताको सेवामा आफूले सकेको योगदान दिँदै आउनुभएका कमरेड झङ्कनाथ दाहाल अब भौतिक रूपमा हाम्रो सामु नरहनुभएपनि उहाँले यो समाजलाई दिनुभएको उत्कृष्ट व्यवहार, दृढ विचार र अनुकरणीय योगदान सधैँ रहिरहनेछ भन्ने विश्वाससाथ उहाँप्रति उच्च सम्मान गर्दै भावपूर्ण हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । ०





















