सिन्धुली । मध्यपहाडी लोकमार्गको फिक्कल गाउँपालिका वडा नं ६ नागथानमा टाटा सुमो दुर्घटना भएको छ । आईतबार विहान साढे २ बजे सडकबाट सुनकोशी नदीमा टाटा सुमो झर्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको को१ज२९७६ टाटा सुमो गाडी सडकबाट २ सय मितटर तल सुनकोशीमा खसेको थियो । घटना स्थलमा ३ जना महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । चालक सहित २ जना पुरुष, १ महिला र एक बालिकालाई उद्धार गरी उपचारको लागी पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले बताएका छन् । चालकको भनाई अनुसार ३ जना बेपत्ता रहेको पनि उनले जानकारी दिए ।
मृतकहरुको पहिचान खुल्न सकेको छैन । वेपत्ता भएकाहरुको खोजी जारी रहेको र घाईतेहरुको घुर्मि उदयपुर स्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा उपचार भईरहेको श्रेष्ठले जानकारी दिएका छन् ।
घाईते हुनेहरुमा चालक ओखलढुंगाका आशिष विष्ट खोटाङ दिक्तेल नगरपालिका वडा नं.३ का सम्झना राई उनकी छोरी १२ वर्षिय सिवानी राई र खोटाङ दिक्तेल नगरपालिका वडा नं. १ का १३ वर्षिय अंकित वि.क. रहेको श्रेष्ठले जानकारी दिए । चारै जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।





















