सिन्धुली । आउँदो चाडवाडलाई लक्षित गरी सिन्धुलीमाढीमा रहेको शनिबारे हाटबजारमा अनुगमन गरिएको छ । शनिबार कमलामाई नगरपालिका वडा नं ६ मा रहेको हाटबजारमा संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा केहि म्याद गुज्रेका खाद्य सामग्रीहरु समेत बरामद गरिएको छ ।
करिब २ हजार ५ सय १० रुपैंया बराबरका खाद्य सामग्री बरामद गरि नष्ट गरिएको हो । अनुगमनका क्रममा १९ वटा किराना पसल, ६ वटा मासु पसल, ३ वटा माछा पसल र ५ वटा ठेला खाजा व्यवसायको निरीक्षण गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, पशु सेवा कार्यालय सिन्धुली, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रतिनिधिहरू सम्मिलित अनुगमन टोलीले हाट बजारमा सञ्चालित खाद्य व्यवसायको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा व्यवसायीलाई जरिवाना गर्नुभन्दा सचेत गराउने र सुधारका लागि प्रेरित गर्ने कार्यलाई प्राथमिकता दिइएको अनुगमन टोलीले जनाएको छ ।
टोलीले म्याद गुज्रिएका खाद्य सामग्री बिक्री नगर्न, मासु तथा माछाको स्वच्छता कायम गर्न, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्न र बिक्री स्थल सफा राख्न व्यवसायीलाई निर्देशन दिएको जनाएको छ ।
साथै, उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उपभोग्य मिति, लेबल र प्याकेटको अवस्था जाँच गर्न तथा शंकास्पद खाद्य सामग्री बिक्री भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा बजारमा स्वच्छ र गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।




















