सिन्धुली । ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीले रक्षाबन्धन पर्वको अवसरमा जिल्लाका दुई स्थानमा पुगेर रक्षाबन्धन गरेके छ । बुधबार सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजका शिक्षक विद्यार्थी र कारागार कार्यालय सिन्धुलीका कैदी बन्दीलाई रक्षा बन्धन गरिएको हो । कलेजमा १ सय ८० जना शिक्षक तथा विद्यार्थी र कारागारका २० जना कैदीबन्दीले रक्षाबन्धन लगाएका छन् ।
सिद्धबाबा प्लस टु म्यानेजमेन्ट सिन्धुलीको आयोजनामा तथा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीको सहयोगमा सिद्धबाबा प्लस टु म्यानेजमेन्ट सिन्धुलीमा रक्षा बन्धनको कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीकी प्रमुख संगिता गुप्ताले रक्षाबन्धन दाजुभाइ दिदीबहिनी बीचको सम्बन्धमा मात्र सीमित नभई प्रेम, पवित्रता र विश्व भाइचाराको प्रतीक भएको बताइन् । उनले आत्माको स्वधर्म पवित्रता र स्नेह भएकाले गृहस्थ जीवनमा रहेर पनि नकारात्मक सोंच र खराब आचरणबाट जोगिनु नै वास्तविक योगी जीवन भएको उल्लेख गरिन् ।
उनले रक्षाबन्धनले आफूभित्रका कमी, कमजोरी र विकार त्यागी शुद्ध, संयमित र सकारात्मक जीवन जिउने संकल्प गराउने सन्देश दिने बताउँदै आत्म–रक्षाबाट नै विश्व बन्धुत्वको भावना बलियो बन्ने धारणा राखिन् । कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्य, नैतिक शिक्षा तथा सफलताका लागि शिक्षक र मार्गदर्शकको भूमिकाको महत्वबारे पनि चर्चा गर्दै शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा कलेजका कोअर्डिनेटर राहुल सिंहले ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीको साथै सबैको सल्लाह, सहयोग, माया र आशीर्वादका कारण संस्था लगातार तीन पटक जिल्ला प्रथम हुन सफल भएको बताए । उनले म्यानेजमेन्ट संकायलाई अझ सुदृढ बनाउने लक्ष्य सहित आगामी शैक्षिक सत्रदेखि स्नातक तहअन्तर्गत बीबीए सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
सिद्धबाबा प्लस टु म्यानेजमेन्ट सिन्धुलीमा विगत ३ वर्षदेखि ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीले रक्षा बन्धन कार्यक्रम गर्दै आएको छ । त्यहाँका शिक्षक, विद्यार्थी हर्षोउल्लासका साथ कार्यक्रममा सहभागि भएका थिए । यस्तै उक्त केन्द्रले कारागारका कैदीबन्दीलाई पनि हरेक वर्ष रक्षाबन्धन गर्दै आएको छ ।




















