सिन्धुली । नेपाल–चीन सीमा क्षेत्र रसुवागढीमा आएको भीषण भोटेकोशी बाढीमा हालसम्म १२३ जनाको शव फेला परेको छ भने २५४ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको आपत्कालिन अवस्था, खोज तथा उद्धार अद्यावधिक प्रतिवेदन–२०८३ अनुसार खोज, उद्धार र राहत कार्य तीव्र रूपमा जारी छ ।
प्राधिकरणका अनुसार सम्पर्क विहिनमध्ये नेपाली सेना ४४, नेपाल प्रहरी २६, सशस्त्र प्रहरी बल १३, रसुवामा १६१ र नुवाकोटमा १ जना रहेका छन् । बाढी प्रभावित क्षेत्रमा कार्यरत सुरक्षाकर्मी र केही सरकारी कर्मचारीसँग पनि सम्पर्क हुन सकेको छैन ।
बाढीमा परी ५७ जना घाइते भएका छन् । तीमध्ये रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा ३ जना घाइते भएका हुन् । हालसम्म १३ जनाको स्थलगत उद्धार गरिएको छ भने हेलिकोप्टर मार्फत ११६ जनाको हवाई उद्धार सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशीको बाढीले २५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल तथा करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त बनाएको प्राधिकरणको तथ्यांक छ । नेपाल–चीन जोड्ने रसुवागढी क्षेत्रको यातायात र भन्सार सेवा समेत प्रभावित भएको छ ।
नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा १९१ विदेशी र १९३ नेपाली गरी ३८४ जना यात्रु प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा अस्थायी आवास, खाद्यान्न, खानेपानी, सरसफाइ सामग्री र औषधिको व्यवस्था गरिएको छ ।
प्राधिकरणले त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै खोज, उद्धार, राहत वितरण तथा क्षतिको विस्तृत विवरण संकलन कार्य निरन्तर जारी रहेको जनाएको छ ।





















