सिन्धुली /जिल्लामा आफुलाई आफै मार्ने (आत्महत्या गर्ने) को संख्या बढ्दै गएको छ । तीनवर्ष सातमहिनाको तथ्यांकलाई हेर्दा जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिएको हो । आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या बढ्दो रहेको समेत पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा हेर्दा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म २ सय २७ जनाले आत्महत्या गरेका छन । आर्थिक वर्ष २०७२/०७३ मा ५६ जनाले आत्महत्या गरेको पाइन्छ भने आर्थिक वर्ष २०७३/०७४ मा यो संख्या बढेर ५७ देखिन्छ यस्तै आर्थिक वर्ष २०७४/०७५ मा यो संख्या ६६ पुगेको देखिएको छ । यस्तै चालु वर्षमा ४८ जनाले आत्महत्या गरेका छन ।
आत्महत्याले जिल्लामा दर्ता भएका मुद्दाको २० देखि २४ प्रतिशत स्थान ओगटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले बताए । उनका अनुसार तीन वर्षको अवधिमा एक सय ४३ जना पुरुषले आत्महत्या गरेका छन भने ८४ जना महिलाले आत्महत्या गरेका छन ।
प्रहरीको अनुसन्धानमा जिल्लामा आत्महत्या बढ्नुको कारण गरिवी तथा बेरोजगारी अग्रपंक्तिमा देखिएको छ । यो अवधिमा १ सय ३ जनाले गरिवी र बेरोजगारीका कारणले आत्महत्या गरेका छन भने घरायसी समस्याका कारण ९३ जनाले आत्महत्या गरेको पाईएको छ । यस्तै २९ जनाले मानसिक असन्तुलन र अन्य कारणले २ जनाले आत्महत्या गरेको देखिएको छ । यस अवधिमा झुण्डिएर १ सय ६७ जना र विष सेवन गरेर ५९ जनाले आत्महत्या गरेको पाईन्छ भने धारिलो हतियार प्रयोग गरि १ जनाले आत्महत्या गरेका छन ।
उमेरका आधारमा हेर्दा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले आत्महत्या गरेको तथ्यांकमा देखिएको छ । उक्त उमेर समूहका १ सय ४९ जनाले आत्महत्या गरेका छन । यस्तै ३५ वर्ष माथिका ५१ जनाले आत्महत्या गरेका छन भने १६ वर्ष मुनीका २७ जनाले आत्महत्या गरेको पाइन्छ । यसरी आत्महत्या गर्नेमा विवाहित धेरै छन । जसमा १ सय ९४ जना विवाहित महिला तथा पुरुषले आत्महत्या गरेको पाइएको छ । आत्महत्या गर्नेहरु प्रायः शैक्षिक हिसावले निरक्षर तथा सामान्य लेखपढ मात्र भएका रहेका छन । सामान्य लेखपढ भएका १ सय ३३ जना र एसएलसी सम्म पढेका ४३ जनाले यो अवधिमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरिक्षक सिंहका अनुसार प्रायः शैक्षिक अवस्था कमजोर भएका, विवाह पछि रोजगार नहुदा परिवार पाल्न समस्या हुने, घरायसी समस्या भएका व्यक्तिहरुले विकल्प नदेखेपछि आत्महत्या गरेको पाईएको बताए । उनले राज्यमा भएको बेरोजगारीको समस्याले आत्महत्याको दरमा वृद्धि भएको बताए ।




















