सिन्धुली/चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा समेत तिनपाटन गाउँपालिकाको विकास बजेट खर्च हुन सकेको छैन । यस आवधिमा तिनपाटन गाँउपालिकाको विकास बजेट १५ प्रतिशत मात्र खर्च भएको गाउँपालिकाले जनाएको छ ।
५३ करोड वार्षिक बजेट रहेको गाँउपालिकाको चालु खर्च ५० प्रतिशत भएको छ भने विकास खर्च १५ प्रतिशत भएको गाँँउपालिकाका लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगरले बताए ।
मगरका अनुसार यो आर्थिक वर्षमा वडा कार्यालय सहित गाँउपालिकाका ४ सय ३९ योजना तथा कार्यक्रम छन् । जसमध्ये ३० वटा योजना मात्र सम्झौता हुन बाँकी छ । तर सम्झौता भएका कुनै पनि योजनाका लागि हालसम्म रकम निकासा हुन सकेको छैन । काम नै सुरु नभएका कारण रकम निकासा नभएको उनले बताए ।
गाँउपालिकाले कार्यक्रम तथा योजना सञ्चालनका लागि यस अघि सार्वजनिक सुचना जारी गरेपनि उपभोक्ता सम्पर्कमा नआएपछि बुधवार फेरी सुचना जारी गरिएको पनि मगरले जानकारी दिए ।
गाँउपालिकाका लागि प्रदेश सरकार र संघ सरकारबाट आएका योजना तथा कार्यक्रमको पनि काम भरखर सुरु भएको छ । कार्यालयमा दरबन्दि अनुसारका कर्मचारी नहुनु र उपभोक्ता समुह गठन गर्दा पनि राजनीतिक भागबण्डा अनुसार मिलाउन समय लागेकाले काम छिटो हुन नसकेको उनले बताए । गाँउपालिकाले २० लाख रुपैयाँदेखि माथिका योजनाहरु टेण्डर मार्फत सञ्चालन गर्ने निर्णय गरेकाले पनि कतिपय योजनाहरु समयमै सम्झौता नभएको उनले बताए ।




















