सिन्धुली । बाढी प्रभावित क्षेत्रमा रहेका र सम्पर्कमा नआएका सिन्धुलीका नागरिकहरुको सूचि सार्वजनिक हुने क्रम जारी छ । कामको शिलशिलामा र धार्मिक यात्रामा गएका तिर्थयात्रीहरु सम्पर्कमा नआएपछि उनीहरुको खोजी, उद्धारका लागि अपिल गर्दै स्थानीय तहहरु, व्यक्तिहरुले विवरण सार्वजनिक गर्न थालेका हुन् ।
भोटेकोशीमा आएको भिषण बाढीका कारण वेपत्ता हुनेमा कमलामाई नगरपालिकाका धेरै नागरिकहरुको सूचि बाहिर आएको छ । कमलामाई नगरपालिकाको ११ नं. वडाका १४ जनाको लिस्ट नै सार्वजनिक भएको छ । उनीहरु गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ फेलुङ पुलमुनी जाईज्याई कम्पनी र रसुवागढी हाईड्रोमा कार्यरत व्यक्तिहरु हुन् ।
बाढीसँगै हराउनेमा लक्ष्मण सापकोटा, राजकुमार श्रेष्ठ, बल बहादुर माझी, भक्त बहादुर माझी, सोम बहादुर माझी, भरत माझी, शंकर खत्री, टंक बहादुर श्रेष्ठ, बुद्धि विक्रम थापा, विष्णु बहादुर श्रेष्ठ, प्रेम बहादुर घलान, बल बहादुर माझी, सुनिल माझी, राजन रसाईली रहेका छन् । उनीहरु बुधबार रातीसम्म सम्पर्कमा आएका छैनन् ।
यस्तै कमलामाई नगरपालिका ९ घर भएका र २ नं. बाहिनी रसुवामा कार्यरत केबुल बहादुर थापा र रसुवागढी हाईड्रोपावरमा कार्यरत पाण्डव भण्डारी समेत बेपत्ता रहेका छन् ।
यस्तै तीनपाटन गाउँपालिकाका तीन जना पनि बेपत्ता भएका छन् । रसुवाको हाइड्रोपावरमा काम गर्ने तीनपाटन –९ आम्बोटे बतासेका छत्र बहादुर मगर, पदम बहादुर मगर र नैन बहादुर मगर बुधबार विहानदेखि नै सम्पर्कमा छैनन् । फिक्कल गाउँपालिका वडा नं. २ का खिलनाथ अछामी (दिनेश) सम्पर्कमा आएका छैनन् । उनी घताल ग्रुप टिमुरे रसुवागढीमा सिभिल इन्जिनियरका रुपमा कार्यरत थिए ।
यस्तै कमलामाई नगरपालिका वडा नं. ३ का हेम प्रसाद गौतम पनि सम्पर्क विहिन छन् । उनी रसुवा हाइड्रो पावरमा काम गर्दै आएका थिए । परिवार आफन्त तथा स्थानीय तहहरुले उनीहरुको खोजीका लागि अपिल गरेका छन् ।






















