सिन्धुली । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीलाई नमुना कार्यालयका रूपमा शुभारम्भ गर्दै सेवागा्रहीलाई सेवा अनलाइन प्रणाली मार्फत दिने बताएकी छिन् । सेवाग्राहीले झन्झट रहित, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नु नै नमूना कार्यालयको मुख्य उद्देश्य रहेको उनले बताएकी छन् । मन्त्री श्रेष्ठले सेवा प्रवाह, कर्मचारीको व्यवहार र प्रविधिमैत्री प्रणालीलाई सुधार गर्दै कार्यालयलाई सेवामुखी बनाइने बताइन् ।
श्रेष्ठले उद्योग दर्ता, नवीकरण तथा अन्य सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै साउन १ गतेदेखि मकवानपुरबाट सेवा सुरु हुने र साउन महिनाभित्रै बागमती प्रदेशका १३ वटै जिल्ला कार्यालयमा विस्तार गरिने बताइन् । यसबाट उद्यमीहरूले घरमै बसेर सेवा लिन सक्ने व्यवस्था हुने उनले बताईन् ।
उनले उद्यमीहरूको वास्तविक आवश्यकता र मागका आधारमा प्रविधि हस्तान्तरण, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने बताउँदै विगतका प्रभावहिन कार्यक्रमको अनुभवलाई सुधार गर्दै परिणाममुखी योजना अघि बढाइने स्पष्ट पारिन् । महिला उद्यमशीलता प्रवद्र्धनका लागि महिलालाई उद्यमशीलता विकास तालिम प्रदान गरी व्यावसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराउने कार्यविधि तयार भइरहेको पनि उनले जानकारी दिईन् । साथै महिला उद्यमीका लागि पाँच करोड रुपैयाँको सहुलियत कर्जा कोष स्थापना गरिएको पनि उनले बताईन् ।
उद्योग क्षेत्रलाई प्रोत्साहन गर्न उद्योग दर्ता तथा नवीकरण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले ‘मुख्यमन्त्री ब्याज अनुदान कार्यक्रम’ र ‘मुख्यमन्त्री सडक उद्यमशीलता विकास कार्यक्रम’ मार्फत साना तथा मझौला उद्योगलाई वित्तीय रूपमा सबल बनाउने प्रदेशको योजना रहेको बताइन् । युवामा नवप्रवर्तन र उद्यमशीलता विकासका साथै सीमान्तकृत समुदायलाई लक्षित स्वरोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइने पनि उनले जानकारी दिइन् । सिन्धुली सहित प्रदेशका अन्य जिल्ला कार्यालयलाई पनि क्रमशः नमूना कार्यालयका रूपमा विकास गर्दै सेवाग्राहीले विगतभन्दा फरक, सहज र प्रभावकारी सेवा अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताइन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुस्पा भुजेलले नमूना कार्यालयले प्रविधिमैत्री, पारदर्शी र सुशासनमैत्री सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बताइन् । उनले नीति निर्माण र कार्यान्वयनबीचको दूरी घटाउन तथा पहुँचका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको धारणा राखिन् ।
उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालय बाग्मती प्रदेशका सचिव जिवलाल भुसालले दक्ष जनशक्ति उत्पादन, प्रविधि हस्तान्तरण कार्यक्रमको कार्यविधि परिमार्जन, उद्योग दर्ता तथा नवीकरण शुल्कमा ५० प्रतिशत छुट र पाँच वर्षसम्मको एकमुष्ट नवीकरण व्यवस्था कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नमूना कार्यालयको उद्देश्य सेवाग्राहीलाई सहज, सरल र सुरक्षित वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु रहेको बताइन् ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीलाई नमुना कार्यालयको रुपमा शुभारम्भ गर्ने उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख डेकेन्द्र बहादुर थापा मगरको अध्यक्षता एवम् उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालय बाग्मती प्रदेशका मन्त्रि बिन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख डेकेन्द्र बहादुर थापा मगरले कार्यालयलाई नमुना कार्यालयको रुपमा स्थापना गर्नुको कारण,उद्देश्यहरु र हालसम्म कार्यालयले गरेका कामको प्रगति विवरण र खर्चको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, उद्योगी व्यवसायी, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो ।





















