सिन्धुली । खाद्य स्वच्छता नअपनाएका तीन व्यवसायीक प्रतिष्ठानलाई सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जरिवाना गरेको छ । विपी राजमार्गको खुर्कोट सिन्धुली सडकखण्ड आसपासमा व्यवसाय गर्ने होटल तथा किराना पसललाई जरिवाना गरिएको हो ।
जिल्लास्तरीय संयुक्त अनुगमनका क्रममा खाद्य सुरक्षा नअपनाएका, म्याद नाघेका सामग्री बेचविखन गरेका र सरसफाईमा ध्यान नदिएका २ वटा होटल र एक किराना पसललाई जरिवाना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका वडा नं. २ भद्रकालीमा रहेको मन्जरी रिसोर्ट एण्ड एग्रो होम प्रालिलाई १५ हजार, गोलञ्जोर गाउँपालिका वडा नं. ७ को होटल त्रियुगालाई २० हजार र गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोटमा रहेको रामकुमार किराना स्टोर्सलाई १५ हजार जरिवाना गरेको छ ।
मन्जरी रिसोर्ट एण्ड एग्रो होम प्रालि कमलामाई नगरपालिका २ लाई उपभोग्य समय अवधि सकिएको एक बट्टा मायोनेज भान्सा कोठामा फेला परेको, फोहोरदानीमा बिर्को नभएको, कामदारले हेयरनेट, एप्रोन, मास्क प्रयोग नगरेको भन्दै जरवाना गरिएको हो ।
यस्तै गोलञ्जोर गाउँपालिका वडा नं. ७ को होटल त्रियुगालाई भान्साकोठा अस्तव्यस्त रहेको, चपिंग बोर्ड, भाँडा माझ्ने स्थान, भुई र भित्ताबाट संक्रमण हुने जोखिम देखिएको, सरसफाई सन्तोषजनक नरहेको, खाद्य स्वच्छताका आधारभूत मापदण्ड पालना नगरेको, कामदारको व्यक्तिगत सरसफाई कमजोर पाइएको, कामदारले हेयरनेट, एप्रोन, मास्क प्रयोग नगरेको पाईएपछि जरिवाना गरिएको हो ।
त्यस्तै गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोटमा रहेको रामकुमार किराना स्टोर्सलाई म्याद नाघेको चिउरा विक्री कक्षमा भेटिएपछि जरिवाना गरिएको छ । अनुगमन टोलीले उक्त स्टोरबाट म्याद नाघेको १८ प्याकेट चिउरा बरामद गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, प्रहरी लगाएको संयुक्त अनुगमन टोलीले सोमबार गरेको अनुगमनका क्रममा खाद्य सुरक्षा नअपनाउने व्यवसायीहरुलाई कारवाहि गरिएको हो ।
अनुगमनका क्रममा न्यु लेकाली चुलो गोलञ्जोर ५, हिमशिखर भोजनालय तथा नेवारी खाजाघर खुर्कोट, कार्की होटल एण्ड लज, गोलन्जोर–७ खुर्कोट, होटल कष्टमण्डप एण्ड गेष्ट हाउस, गोलन्जोर–७ खुर्कोटलाई खाद्य सुरक्षाका उपाय अपनाउन, सरसफाईमा सुधार गर्न, कामदारले व्यक्तिगत सुरक्षण उपकरण लगाउन, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि व्यवसायीको दायित्व पालना गर्न निर्देशन दिईएको छ ।
व्यवसायीहरुले खाद्य स्वच्छताका मापदण्ड पालना गर्न, सरसफाईमा ध्यान दिन ध्यान नदिएको अनुगमन टोलीले जानकारी दिएको छ ।





















