रमा कार्की
सिन्धुली/फिक्कल गाउँपालिकाको खाङसाङमा माघ २ गतेदेखि सञ्चालन गरेको पहिलो फिक्कल महोत्सव सकिएको छ । ‘सडक, शिक्षा, बिजुली फिक्कलको पुर्वाधार, कृषि, जडिबुटि र पर्यटन समृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ सञ्चालित महोत्सवको मंगलबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै ३ नं. प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरूण नेपालले सरकारको संमृद्धिको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन । उनले आफुसँग भएका श्रोत र साधनलाई सहि सदुपयोग गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
महोत्सवमा सञ्चालित ¥याफ्टिङ र प्याराग्लाइडिङलाई निरन्तरता दिदै पर्यटन विकास गरि संमृद्धिको आधारको रूपमा प्रयोग गर्न समेत मन्त्रि नेपालले सुझाव दिएका छन । उनले फिक्कल गाउँपालिकाको विकासको गुरूयोजना बनाई अगाडि बढ्न समेत सुझाव दिएका छन ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सासंद राजन दाहालले ¥याफ्टिङ, प्याराग्लाइडिङ महोत्सवको नयाँ पहिचान भएको बताउदै प्रदेश सरकारले प्राथामिकताका साथ फिक्कललाई पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर बर्मा, नेकपाका जिल्ला नेता खड्ग रजन मगर (धिरज), नेपाली कांग्रेसका जिल्ला सभापति उज्ज्वल प्रसाद बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्याराग्लाइडिङ, रयाफ्टिङ, विभिन्न जातजातिका झाँकीहरू र फिक्कल कलाघर महोत्सव आकर्षण रहेका थिए । महोत्सव अवधिमा खेलकुद, गायन, नृत्य तथा लोपोन्मुख पञ्चेबाजा प्रतियोगिता समेत गराईएको थियो । महोत्सवमा ५० लाख बढीको कारोवार भएको र ३० हजारले अवलोकन गरेको आंकलन आयोजकको रहेको छ ।




















