सिन्धुली /कारागार कार्यालय सिन्धुलीमा क्षमता भन्दा चारगुणा बढी कैदी बन्दी हुदा समस्या भएको छ । कारागार कार्यालयको बन्दी गृह ३५ जना क्षमताको रहेकोमा हाल आश्रित १ जना बालिका सहित एक सय ४० जना बस्दै आएको कार्यालयले जनाएको छ ।

घ श्रेणीको कारागारमा हाल १ सय ३९ जना कैदी बन्दी रहेका छन । जसमा कैद तोकिएका १ सय १ जना पुरुष र ९ जना महिला गरि १ सय १० जना छन भने कैद नतोकिएका २८ जना पुरुष र १ जना महिला गरि २९ जना बन्दी रहेका छन । उक्त कारागारमा एक जना बालिका आश्रित रहेकी छन ।
क्षमता भन्दा चारगुणा बढी कैदी बन्दी हुदा शौचालय प्रयोग, पानीको प्रयोग तथा सुत्न तथा बस्न समस्या रहेको छ । कारागारमा महिला बन्दीगृह नहुदा समस्या छ । कार्यालयले महिला बन्दी २ जनासम्म बस्न मिल्ने कोठा उपलब्ध गराएको भए पनि १० जना बस्दै आएका छन ।
कारागार भित्र खानेपानी, शौचालय, विद्युत, स्वास्थ्य, पत्रपत्रिका, रेडियो, टिभि, खेलकुद तथा विद्यालय सामग्री उपलब्ध भए पनि क्षमता भन्दा बढी कैदी बन्दी राख्न समस्या भएको कारागार प्रशासनले जनाएको छ ।



















