सिन्धुली । तपाईं सिन्धुलीको खुलामञ्चमा शुक्रबारदेखि हुन थालेको प्रादेशिक महोत्सवमा आउँदै हुनुहुन्छ भने यहाँका युवाहरुले तयार गरेको कला, संस्कृतियुक्त सिन्धुली कलाघर हेर्न छुटाउनु हुने छैन किनकी सिन्धुलीमाढीमा हुन लागेको प्रादेशिक महोत्सव आकर्षण मानिएको सिन्धुली कलाघरको निर्माण सम्पन्न भइसकेको छ ।

१७ दिनको अथक प्रयासबाट स्थानीय युवाहरुको सक्रियतामा उक्त कलाघर निर्माण गरिएको प्रगतिशिल प्रतिभा केन्द्रका सुमन थापाले बताए ।
सिन्धुली जिल्लाको चिनारीसंगै लोप हुन लागेका नेपाली मौलिक कला, संस्कृति झल्कने गरि सिन्धुली कलाघर निर्माण गरिएको छ । परिवर्तन जागरण क्लवद्धारा सञ्चालित प्रगतिशिल प्रतिभा केन्द्रको बिशेष प्रयासमा व्यवस्थित तवरले सिन्धुली कलाघरलाई सजाईएको छ । उक्त घरमा जिल्लामा बसोबास हुने जातजातीको पहिचान झल्कने गरि जातीय भेष, कला र संस्कृति झल्कने पोशाकहरु, लोपोन्मुख नेपाली बाजाहरु, कलाकार विशम्भर लामिछानेद्वारा निर्मित जरबुट्टा कलाहरु, सिन्धुली रोधिघर, सिन्धुलीका पुरातात्विक महत्वका मठ मन्दिर र सम्पदाका चित्राकृति, लोपोन्मुख घरेलु सामग्री, सिन्धुली साहित्यीक संगम, प्रतिक्षालय, देउरालीको भट्टि पसल लगाएत नेपालको धरहराको प्रतिबिम्ब समेत रहेको छ ।
उक्त कलाघरमा स्थानीय उत्पादन, पुराना औजारहरु, सिन्धुलीका ऐतिहासिक तथा धार्मिक पहिचान झल्कने कलाहरु समेत राखिएको छ । ११ जना कलाकारले बनाएको यो कलाघर महोत्सवको मुख्य आकर्षक बन्ने निश्चित भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले बताए । अत्यन्तै मेहनत गरेर सिन्धुली कलाघर बनाईएको परिबर्तन जागरण क्लवका अध्यक्ष नविन श्रेष्ठले बताए । बिर्सदै गएको नेपालीपन र मौलिक संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले कलाघरलाई मौलिक संग्राहालय बनाइएको छ । कलाघर अवलोकन गर्न महोत्सव अवधिभर ३० रुपैंया टिकट लाग्ने छ ।
कलाघरमा महोत्सव अवधिभर नेपाली मौलिक खानाका परिकारहरु समेत रहने प्रगतिशिल प्रतिभा केन्द्रका अध्यक्ष सुमन थापा मगरले जानकारी दिए । युवाहरुको पहिलो प्रयास र नेपाली मौलिक संस्कृतिलाई जोगाउन आफु मात्र नभएर सवैको सकरात्मक सहयोगको अपेक्षा रहेको पनि उनले बताए ।



















