सिन्धुली । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटको प्रक्रिया सुरु भएको छ । नेकपा एमालेको मंसिर २७, २८ र २९ गते काठमान्डौमा हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि छनौटका लागि सिन्धुलीमा उमेदवारी दर्ता गरिएको छ । जिल्लाबाट १८ जना प्रतिनिधि छनौटका लागि ९२ जनाको उमेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

मंगलबार सिन्धुलीमाढीमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, निर्वाचन क्षेत्र नं. २ र दलित क्लष्टर तर्फको मनोनयन दर्ता गरिएको हो । क्षेत्र नं. १ मा ४६ जना, क्षेत्र नं. २ मा ३९ जना र दलित क्लष्टरतर्फ ७ जनाको उमेदवारी परेको छ ।
क्षेत्र नं. १ बाट ३ महिला सहित ९ जना प्रतिनिधि छनौट हुनेछन् भने क्षेत्र नं. २ मा ३ महिला सहित ८ जना प्रतिनिधि छनौट हुनेछन् । जसमा युवाहरुको प्रतिनिधित्व ४० प्रतिशत रहनेछ । दलित तर्फ एकजना प्रतिनिधि छनौट हुनेछन् ।
क्षेत्र नं. १ मा १२ जना युवा, ८ जना महिला र खुलामा २६ जनाको उमेदवारी परेको छ । क्षेत्र नं. २ मा ७ जना युवा, १२ जना महिला र खुलामा २० जनाको उमेदवारी परेको छ ।
बुधबार ११ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । ११ बजेदेखि १ बजेसम्म उजुरी उपर छानविन र निर्णय गर्ने समय तोकिएको छ । त्यसपछि उमेदवारको नामावली पुनः प्रकाशन समय ४ बजेसम्मलाई तोकिएको छ ।
यस्तै निर्वाचन समितिले उमेदवारको नाम फिर्ता लिने समय १२ गतेसम्मको लागि तोकेको छ । प्रतिनिधि छनौटको मतदान देशभर एकै साथ हुनेछ । जुन काम एमालेले मंसिर १३ गतेका लागि तय गरेको छ । सिन्धुलीमा पनि १३ मंसिरको विहान ८ बजेदेखि मतदान तोकिएको छ ।




















