
नेपाल यस्तो देश हो जहाँ धर्म, जात, भुगोल रङका आधारमा लडाई हुदैन । यहाँ बहुभाषा, बहुधर्म, बहुजात, बहुसंस्कृतिलाई स्वीकार गरिएको छ । लामो समयदेखि नै यहाँ सबै जात, धर्म, पेशा, वर्ग, भाषा, संस्कृतिले मान्यता पाएकोमा कसैको विमति छैन । नेपालको संविधानले त झनै यसलाई लिखित रुपमा आत्मसात गरेको छ । धर्म निरपेक्षताको सिद्धान्तलाई अवलम्बन गर्दै नेपाल संघिय गणतन्त्रको अभ्यास गरिरहेको छ ।
विगतमा राजाको शासनका बेला नेपाल हिन्दु राष्ट्र थियो तर त्यस मान्यतालाई समेत कानुनी दस्तावेजबाट हटाई सकिएको छ ।
अहिले नेपाल सरकारदेखि राजनीतिक, समाजिक वृतमा अर्को बहस पनि चलिरहेको छ की धर्म निरपेक्षता की धार्मिक स्वतन्त्रता ? जे होस सबै धर्मलाई सबै धर्मका आस्थावानले मान्नु पर्ने बाध्यतालाई धर्म निरपेक्षता मानिएको हैन संविधानमा । सबैले निर्वाध रुपमा धर्म मान्ने अधिकार मात्र दिएको हो । धार्मिक हिसाबले हेर्ने हो भने नेपालमा हिन्दु धर्म मान्नेको संख्या अत्यधिक छ, बौद्ध इस्लाम, इसाई, जैन, शिख जस्ता धर्म मान्नेहरु पनि छन । उनीहरुको माग पनि धार्मिक हिसावले आफुले मान्ने धर्ममा कसैले बाधा विरोध नगरोस भन्ने नै हो ।
आफुले चाहेको धर्म मान्ने अधिकार सबैलाई हुन्छ । यहि अधिकारलाई दुरुपयोग गरेर धर्म परिवर्तन गराउने तर्फ केहि संस्था वा व्यक्तिहरु लागि परेको देखिन्छ । पछिल्लो समयमा धेरै बोर्डिङ स्कुलहरुले आफ्ना विद्यार्थी सबैलाई क्रिशमसमा क्रिश्चियनको ड्रेस वा पहिचानमा विद्यालय जान बाध्य पार्नु, परमेश्वर मान्न बाध्य पार्ने लगाएतका गतिविधि भएका छन । यस्तै क्रिश्चियन धर्म मान्ने केहि संस्थाहरुले आर्थिक प्रलोभन, जागिरको आश्वासन दिने र मानसिक दवावमा त्यस्ता धर्म परिवर्तन गर्ने काम पनि भईरहेको पाइन्छ । यस्तो अवस्थालाई निर्मुल पार्ने दायित्व राज्यको हो ।
राज्यमा तीन तहका सरकार छन र यस्ता क्रियाकलाप भईरहेका छन भने रोक्ने दायित्व पनि तीन तहकै सरकारको हो ।
क्रिश्चियन धर्म स्वेच्छाले मान्न पाउनु नेपालीको अधिकार हो तर कसैलाई करकापमा पारि धर्म परिवर्तन गराउनु अपराध हो । यो अपराध खुलेआम भइरहँदा किन राज्य मौन बसिरहेको छ ? नेपाल धार्मिक स्वतन्त्रताको पक्षपाति राष्ट्र हो । जहाँ सबैले आफ्नो धर्म मान्न स्वतन्त्रता छ यसको मतलब कसैलाई जवर्जस्ती धर्म परिवर्तन गराउन पाउनु वा बाध्य पारिनु हुदैन । अतः सरकार तत्काल यस्ता क्रियाकलाप रोक्न अगाडि बढ्नु जरुरी छ । नेपालीलाई धार्मिक स्वतन्त्रता होस न की धार्मिक बाध्यता ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















