सिन्धुली । सिन्धुलीको कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै आगो लगाएपछि उनीहरुलाई कारागारबाट छोडिएको छ । ४२८ जना पुरुष, ४३ जना महिला र ५ जना आश्रित बालबालिका रहेको उक्त कारागारका सबै कैदीबन्दी झोला बोकेर जेलबाट बाहिरिएका छन ।
उनीहरु कारागार सुरक्षाको बीचमा मूल ढोकाबाटै झोला गुन्टा बोकेर सिन्धुलीमाढीका बजार र गाउँमा छ्यापछ्याप्ती भएका छन । बिहान ८ बजेदेखि सिन्धुली कारागारका कैदीबन्दीले ‘हामीलाई किन नछोडेको सबैलाई छोडिसके’ भन्दै प्रहरीलाई छोड्न दवाव दिईरहेका थिए । स्थानीयका अनुसार तीन जना युवाहरुले बाहिरबाट आएर कारागारको गेटमा रड, दाउरा, ढुंगाले हाने । कैदी बन्दी छोड्न दवाव दिए ।
यत्तिकैमा महिलाको ब्लकमा कैदीहरुले भित्रै आगो लगाए । त्यसपछि पुरुषको ब्लकका सिसा फुटाए, आगो लगाए । केहि कैदी बन्दी बाहिर निस्के । निस्केका कैदीबन्दी नियन्त्रण गर्न सेना परिचालन गरियो । प्रहरी सुरक्षा थप गरियो । पक्राउ पनि गरियो तर स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था रहेन ।
स्थिति नियन्त्रणमा लिन एकसय राउण्ड हवाई फायर भयो । अश्रुग्याँस पनि हानियो स्थिति सम्भव भएन । कैदीबन्दी नै भित्रै जल्ने अवस्था र कारागार आसपासमा स्थानीय ठूलो बस्तीमा मानवीय क्षति हुने देखिएपछि सबै कैदीबन्दी छोड्न प्रशासन बाध्य भयो । सेना, प्रहरी गरि एकसय बढी सुरक्षाकर्मीले कारागार घेराउ गरेका थिए तर अन्तमा मुकदर्शक बनेर कैदीबन्दी छोडे ।
स्थानीय भन्छन, कारागार घेरेका प्रहरीले केहि गरेनन, मुकदर्शक बनेर बसे । उनीहरुका अनुसार थप सुरक्षा परिचालन गर्न सकेको भए कैदीबन्दी नभाग्न पनि सक्थे । सजिलै छोडिदिए ।
कारागार वरपर बाक्लो वस्ती छ । त्यो वस्तीका स्थानीयले आफुहरुले करीब ६ घण्टा त्रासमा बसेको बताए । उनीहरु भन्छन, ‘६ घण्टा त्रासमा बस्यौं, स्थिति नियन्त्रणमा आउला भनेको सबै कैदीबन्दीलाई छोडे ।’ भन्छन, ‘अब चोरी, डकैंती, अपराध बढ्ला हामी कसरी सुरक्षित हुने ?’ उनीहरुको अनुहारमा ठूलो त्रास थियो ।
कैदीबन्दीले लगाएको आगोका कारण कारागार कार्यालयका महिला र पुरुष ब्लकमा दिउँसोसम्म आगो बलिरहेको छ । कैदीबन्दीका आफन्त आफ्ना कैदीबन्दी लिन कारागार बाहिर अढाई सय बढीको संख्यामा आएका थिए र लिएर गएको स्थानीयले बताए । केहि कैदीबन्दीहरु झोला बोकेर सडक, गाउँतर्फ हिडिरहेका छन । उनीहरुले गर्वका साथ भन्दै थिए, ‘हामी जेलबाट भाग्यौं नि ।’





















